अप्पन जनकपुर
जनकपुरधाम । जनकपुरधामको तीन वटा औषधी पसलमा सीलबन्दी भएको छ ।
बुधबार औषधि व्यवस्था विभागले अनुगमन गरी तीन वटा औषधी पसलमा सीलबन्दी गरेको हो । हस्पिटल रोडमा संचालित पूर्वी क्लिनिक भित्र रहेको औषधि पसल, त्यही क्लिनिक छेउमै सञ्चालित अर्को औषधि पसल र जनकपुर प्रादेशिक अस्पताल अगाडि अर्थोपेडिक ट्रामा क्लिनिक भित्र संचालित औषधि पसलमा सील गरिएको विभागका वीरगञ्ज फार्मेसी अधिकृत सर्फराज अहमद खानले जानकारी दिए । उनका अनुसार तीनवटै औषधि पसल दर्ता नगरी अवैध रुपमा संचालित छ । बिना दर्ता, र नवीकरण गरी सञ्चालन रहेको औषधि पसलमा अनुगमन गरेका थाहा पाएपछि व्यवासायीहरु भागाभाग भएका थिए ।
धमाधम पसल बन्द गरेका थिए । जनकपुरमा वर्षौदेखि संचालित अवैध औषधि पसल अनुगमनका बेला बन्द हुने र अन्य दिनमा खुलेआम संचालनमा रहे पनि सम्बन्धित निकाय मुकदर्शक बन्ने गरेको स्थानीयको आरोप छ । जनकपुरमा वर्षौदेखि आधा भन्दा बढी औषधि पसल दर्ता बिना अवैध रुपले संचालनमा हुँदै आएको छ । त्यस्ता थुप्रै औषधि पसल संचालकले अनुगमनको बेला बन्द गरेर भाग्ने गरेका छन् । प्रत्येक वर्ष विभागले अनुगमन गरे पनि ठोस कारवाही नगर्दा उनीहरुको मनोबल बढ्दै गएको छ ।