अप्पन जनकपुर
जनकपुरधाम । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको भित्ता फोडेर फरार भएका ६ जना थनुवामध्ये प्रहरीले ४ जनालाई पक्राउ गर्न सफल भएको छ । फरार थुनुवाहरुमध्ये पक्राउ पर्नेहरुमा मिथिला नगरपालिका वडा नम्बर-२ का २५ वर्षीय हरिदिप सिंह, २५ वर्षीय अमित मण्डल, मिथिला नगरपालिका वडा नम्बर-६ का २८ वर्षीय रोशनकुमार महतो र क्षीरेश्वरनाथ नगरपालिका-५ बस्ने ३५ वर्षीय विनोद कुमार शर्मा रहेका छन् ।
हातहतियार तथा खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ, अभद्र व्यवहार तथा शान्ति सुरक्षाविरुद्धको मुद्दाका अमितलाई मंगलबार दिउँसो, हरिदिपलाई मंगलबार राति र लागूऔषध मुद्दाका शर्मालाई बुधबार राति पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
गत पुस २८ गते लागूऔषधसहित पक्राउ परेका शर्माले नै हिरासत फोड्ने मुख्य योजनाकार रहेको डीएसपी क्षेत्रीले बताए । शर्मा १८ दिनदेखि हिरासतमा थिए । उनलेनै भित्ता फोड्न सुरु गरेपछि अन्य थुनुवाको साथ पाएर ६ जना एकसाथ फरार भएका थिए ।
गत आइतबार बिहान ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना फरार भएका थिए । जसमध्ये अहिलेसम्म ४ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने बाँकी २ जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
विनोदलाई मथिला नगरपालिका-१० लालगढको रातो खोलाको बगर छेउमा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरी थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।