काठमाडौं । आगामी फागुन महिनाभित्र मोटरसाइकलको कर तथा नवीकरण शुल्क भुक्तानी गर्दा ५ वर्षसम्मको जरिवाना छुट हुने भएको छ ।
यातायात व्यवस्था कार्यालयले सार्वजनिक सूचना जारी गर्दै जरिवाना छुटको घोषणा गरेको हो । यातायात कार्यालयका अनुसार आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्म नवीकरण नभएका सवारी धनीले २०७९ फागुन मसान्तभित्र कर बुझाएमा सो अवधिको जरिवाना छुट गरिएको छ ।
कार्यालयले आफ्नो नामको सवारीसाधनको समयमै नवीकरण गरी कर भुक्तानी गर्न पनि सबैलाई आग्रह गरेको छ । साथै ट्राफिक कारबाहीमा परी सवारीसाधन नियन्त्रणमा रहेकाहरुलाई पनि अविलम्व कर भुक्तानी गरी जरिवाना छुटको लाभ लिन यातायात कार्यालयले आग्रह गरेको छ ।
‘सवारीसाधन कर नवीकरण शुल्क र दण्ड जरिवानाको रकमबाट कुनै पनि वहानामा उन्मुक्ति नमिल्ने भएकाले समयमा नै सवारीसाधनको कर तथा बक्यौता रकम भुक्तानी गर्नुहुन अनुरोध गरिन्छ,’ कार्यालयले सूचनामा भनेको छ । तोकिएका सयमभित्र नतिरे कर भुक्तानी नगरेकाको लगत संकलन गरी कडाईका साथ जरिवाना समेत उठाइने कार्यालयले जनाएको छ ।