जनकपुरधाम । फागुन प्रतिपदामा सुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधामको अन्तरगृह परिक्रमासँगै सकिएको छ ।
परिक्रमामा सहभागी साधु सन्त, महन्थ र श्रद्धालुहरू राम-जानकीको डोला लिएर जनकपुरधामको अन्तरगृह परिक्रमा गरेका हुन् । अन्तरगृह परिक्रमाको दुरी ५ कोष रहेको छ । त्यसैले यसलाई पञ्चकोशी परिक्रमा पनि भनिन्छ ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई केन्द्रबिन्दु मानी यसको चारैतिरका क्षेत्रसँग जोडिएका गाउँ, नगरमा स्थितका तीर्थस्थलको भ्रमण गरिने परिक्रमालाई मिथिला मध्यमा परिक्रमा भन्ने चलन छ । यो परिक्रममा सहभागी हुनेलाई मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ ।
१३३ किलोमिटर यात्रा खाली खुट्टा हिँड्नुपर्ने १५ दिने परिक्रमामा सहभागी नहुनेहरू पनि अन्तरगृह परिक्रमामा सहभागी हुन्छन् । पूर्वमन्त्री तथा नेकपा एमालेकी प्रतिनिधिसभा सदस्य जुली महतो पनि अन्तरगृह परिक्रमामा सहभागी भएकी छन् । उनी पनि खाली खुट्टा पैदल यात्रा गरिन् ।
अन्तरगृह परिक्रमामा सहभागीहरू आज गरिब विपन्नलाई दान गर्ने चलन पनि छ । सो मान्यता अनुसार परिक्रमामा सहभागीहरू दान गरेका छन् । दान थाप्न जनकपुरधाममा जताततै गरिब विपन्नहरू सडकमा कपडा ओछ्याएर बसेका छन् ।
फागुन औशी अर्थात् फागुन ८ देखि धनुषा मिथिला विहारी नगरपालिकाको ठेरा कचुरी स्थित मिथिला विहारी मठबाट राम जानकीको डोला र जनकपुरधामको अग्नि कुण्ड लगायतका मठबाट ल्याएका जानकी जीका डोलाहरूलाई समावेश गरी परिक्रमाको यात्रा सुरु गरिएको थियो । अनेकतामा एकताको विशिष्ट उदाहरणका रूपमा यो परिक्रमालाई लिइन्छ ।
मिथिला माहात्म्यका अनुसार मिथिलापुरीको यात्राफल राम्रो मानिन्छ । मिथिला क्षेत्रमा भाग्यले जन्म हुन्छ, यस क्षेत्रको यात्रा गर्नाले अनन्त फल प्राप्त हुनुका साथै मुण्डन, एकाध साँझ उपवास र बास बसेमा लाभ हुने विश्वास पनि मिथिला माहात्म्यमा उल्लेख छ ।
यस प्रकारको धार्मिक आस्थाका कारण नेपालका कुनाकाप्चा र भारतलगायत अन्य राष्ट्रका श्रद्धालुसमेत मिथिला क्षेत्रको यात्रामा सामेल हुन्छ । ‘ुजय सिया राम, जय सीताराम’को ध्वनि घन्काउँदै झ्याली, ढोलक, डमरू, करतल ध्वनिसँगै श्रद्धालु श्री मिथिला विहारीका डोलाका पछिपछि श्रद्धा भक्तिका साथ परिक्रमा गरिहरेको दृश्यले जो कोहीलाई पनि मोहित पार्छ ।
सामान्य अर्थमा परिक्रमा भन्नाले कुनै व्यक्ति, देवमूर्ति र पवित्र स्थललाई केन्द्र मानी श्रद्धापूर्वक चार दिशामा सुनिश्चित भूभागमा घुम्ने धार्मिक क्रियाकलाप हो । हिन्दूधर्म, संस्कृति र परम्परामा यसको ठूलो महत्त्व रहेको छ । वैदिककालदेखि नै परिक्रमाद्वारा श्रद्धालुले देवमूर्ति र पवित्र स्थललाई प्रभावित गर्न वा सम्मानका लागि यो कार्य गर्ने गरेको पाइएको छ ।
यज्ञ, मन्दिर, नदी तथा व्यक्ति आदिको परिक्रमा पुण्यदायी हुने गरेको आस्थाअनुरूप मिथिला परिक्रमाअन्तर्गत १३० किलोमिटरका क्षेत्रमा पदयात्रा गरिन्छ । यो परिक्रमा मेलामा सामेल भएमा पापबाट मुक्ति पाउने, रोगव्याधी निको हुने तथा जीवनको अन्त्यमा स्वर्ग प्राप्त हुने साधु सन्त बताउँछन् ।
लाखौँ श्रद्धालुको सहभागिता रहने गरेको सो परिक्रमामा हरेक, धर्म, जातजाति, छरछिमेकका गाउँवासी, इष्टमित्र, घरपरिवारका नातेदारलगायत कर कुटुम्बका लागिसमेत उत्सव आस्थाको केन्द्र रहेको छ ।
इतिहासकारहरूका अनुसार यो परिक्रमा विसं १८१० मा प्रारम्भ भएको हो । पहिले यस मार्गमा जङ्गल थियो भने हाल बस्ती रहेको छ । अचारी बाबाको सत्प्रयासले परिक्रममा पथ हाल सहज भएको बताइन्छ । अचारी बाबापछि उहाँका शिष्य लाडली शरण सो जिम्मेवारी सम्हाले । उहाँ कचुरी मठका महन्थ थिए । त्यसैबेला खेअि परिक्रमाको मूल डोला कचुरी मठबाट सुरु हुने परम्पराको थालनी भएको थियो ।