जनकपुरधाम । मधेश प्रदेशमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो स्थापना दिवस मनाएको छ । रास्वपा मधेश प्रदेश समितिलेजनकपुरमा बिहीबार चियापान कार्यक्रम गरी वार्षिकोत्सब मनाएको हो ।
सो कार्यक्रममा मधेश प्रदेश समितिका सभापति ई. तपेश्वर यादवले रास्वपा संघीयता र नागरिकता विधेयकको विरोध नगरेको बताएका छन् । उनले प्रदेशमा सांसदको संख्या घटाउनु पर्ने र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुनुपर्ने रास्वपाको माग गरेको जिकिर गरे । देशमा विधिको साशन हुनुपर्ने उनको भनई छ ।
जन्मसिद्ध नागरिकले नागरिकता पाउनु पर्ने रास्वपाको पनि माग रहेको उनको दावी छ ।
रास्वपा मधेश प्रदेशका महामन्त्री मनिष कुमार साहले पार्टीलाई कमजोर बनाउन मधेशमा विभिन्न भ्रम फैलाइएको बताए । पार्टीको उत्साह देखेर मधेशकै पार्टीहरुले सो भ्रम फैलाइएको उनको कथन छ । पार्टीले अगामी निर्वाचनमा तीनै तहमा उम्मेदवारी दिने उनले बताए ।
रास्वपामा लागेका ९० प्रतिशत सदस्य दक्ष एवं साक्षर रहेको धनुषा संयोज डा. जयप्रकाश महतोले बताए ।