राजविराज । सप्तरीको राजविराजस्थित सामाजिक विकास इकाईका सब–ईन्जिनियर अजय कुमार साफी घुस काण्डमा फसेका छन् । उनले लिएको घुस रकम अख्तियारको टोलीलाई देखेपछि फालेर भागेका हुन् ।
सिरहाको नवराजपुर गाउँपालिका १ स्थित विद्यालयमा भवन निर्माण गरेको रकम निकासाका लागि उपभोक्तासंग सब–ईन्जिनियर साफीले ९० हजार रूपैया घुस मागेका थिए । तर उपभोक्ताले ७५ हजार घुस दिन तयार भएपछि सब–ईन्जिनियर साफीले बोलाएर १५ हजार रुपैयाँ नगद र ६० हजारको चेक बुझेका थिए ।
घुस रकम र चेक बुझेलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीको टोली पुगेपछि सब–ईन्जिनियर साफी भागेका हुन् । उनले उपभोक्ताबाट बुझेको रकम र चेक फोहोर फाल्ने ठाउँमा फ्याकेर भागेको अख्तियारका एक अधिकारीले जानकारी दिए ।
सामाजिक विकास इकाई मधेश प्रदेशको सामाजिक विकास मन्त्रालय मातहत रहेको छ ।