अप्पन जनकपुर
काठमाडौं । ज्वरो : ज्वरो आफैं रोग हैन, यो कुनै रोगको कारणले आउन सक्छ । सामान्य रुघाखोकीको कारणले हल्कामात्र ज्वरो छ भने २४ घण्टासम्म राम्ररी निरीक्षण गर्नुपर्छ । यस अवस्थामा आमाको दुध र झोल पदार्थ सधैंभन्दा धेरै खुवाउनुपर्छ । १०१ डिग्री ज्वरो आएपछि चिकित्सकको सल्लाह लिएर ज्वरो कम हुने औषधी खुवाउनुपर्छ ।
रुघाखोकी : रुघाखोकी एउटा साधारण रोग हो । यसमा ज्वरो आउन पनि सक्छ, नआउन पनि सक्छ । यसका लागि औषधीको आवश्यकता पर्दैन ,तर शिशुहरूलाई नाक टालिने हुनाले आत्तिन सक्छन् । तर उचित हेरचाह वा उपचार नभएमा निमोनिया हुन सक्छ ।
रुघाखोकीको लागि घरेलु उपचारका तरिकाहरू:
• बच्चालाई पटकपटक आमाको दुध खुवाइरहने ।
• साविकभन्दा बढी खाना तथा झोल कुराहरू खुवाउने ।
• ६ महिनाभन्दा माथिका बच्चा भएमा खोकीको उपचार (अदुवा, बेसार, तुलसीको पात आदि हाली पकाएको पानीमा मह राखी खुवाउने, हिमाली क्षेत्रमा जडीबुटी चिया खुवाउने) ।
• बच्चालाई न्यानो पारेर राख्ने तर नगुम्स्याउने ।
• मन तातो नुनपानीमा सफा सुती कपडा भिजाइ नाक सफा गरिदिने ।
• धुवाँ र धुलोेबाट बचाउने ।
निमोनिया : निमोनिया श्वासप्रश्वासको सङ्क्रमण भएर शिशुलाई ज्वरो आउने, सास फेर्न गाह्रो हुने, छिटोछिटो सास फेर्ने, कोखा हान्ने, दुध चुस्न नसक्ने रोग हो । छिटो सास फेर्नु निमोनिया भएको बच्चामा सबैभन्दा पहिले देखिने लक्षण हो । २ महिनादेखि १२ महिनासम्मको बच्चाले १ मिनेटमा ५० वा सो भन्दा बढी, १२ महिनादेखि ५ वर्षको बच्चाले १ मिनेटमा ४० वा सो भन्दा बढी सास फेरेमा निमोनिया भएको हुन सक्छ । यस्तो अवस्थाको बालबालिकालाई तुरुन्त चिकित्सकसँग परीक्षण गरार्ई औषधी उपचार गराईहाल्नुपर्छ ।
कोभिड–१९ : यो निमोनिया जस्तै भाइरसबाट लाग्ने श्वासप्रश्वास सम्बन्धी रोग हो । यो नयाँ कोरोना भाइरसबाट सङ्क्रमित भई २०१९ मा विश्वभरि फैलिएको हुनाले यसको नाम पनि कोभिड–१९ भएको हो । यो मानिसको श्वासप्रश्वासबाट निस्कने छिटाहरूबाट एक अर्कामा सर्ने रोग हो । यसका भाइरसले प्रकृतिअनुसार स्वरूप परिवर्तन गर्छ । बालबालिकामा पनि यसले ज्वरो आउने, रोग प्रतिरोधात्मक क्षमता घटाउने र शरीरका विभिन्न अङ्गहरूमा आक्रमण गर्ने गर्दछ । यसको शङ्का लागेमा कोभिड टेस्ट गरेर स्वास्थ्य केन्द्रको निर्देशनमा उपचार गर्नुपर्छ ।
झाडापखाला : २४ घण्टामा ३ वा ३ भन्दा बढीपटक पानी जस्तो पातलो दिसा हुनुलाई पखाला लागेको भनिन्छ । पखाला लाग्दा शरीरबाट प्रशस्त पानी, नुन र शक्ति खेर गई सुख्खा हुने सम्भावना हुन्छ । त्यसैले खेर गएको पानी, नुन र शक्तिको आपूर्ति गर्नुपर्दछ, नभए बिरामी बच्चा मर्न पनि सक्छ ।
झाडापखालाको घरैमा उपचार गर्ने ४ नियम
• पखाला सुरु हुनासाथ अघिपछिभन्दा बढी झोल कुराहरू (आमाको दुध, दालको रस, फलफूलको रस, भातको माड, पुर्नजलीय झोल, सफा पानी) पटकपटक खान दिनुपर्छ ।
• साविकबमोजिम नरम तथा सजिलैसँग पच्ने खानेकुरा खुवाउनुपर्छ । कुपोषण हुन नदिन, पखाला थामिएपनि २ हप्तासम्म सधैँभन्दा १ पटक बढी खाना खान दिनुपर्छ ।
• पुनर्जलीय झोल (जस्तै, जीवनजल)सँगै १० दिनसम्म जिङक चक्की खुवाउनुपर्छ ।
• खान पिउन नसक्ने गरी झन् बिरामी भएमा, दिसामा रगत देखिएमा, तारन्तार वान्ता भइरहेमा, बच्चा ज्यादै तिर्खाएमा, ज्वरो आएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्छ ।
जुका : बालबालिकालाई दूषित खाना, पानी र धुलोे माटोबाट हाम्रो आँखाले नदेखिने जुकाका अण्डाहरू मुखबाट या श्वासप्रश्वासको माध्यमबाट सर्छ । जुकाले बालबालिकाको आन्द्रामा पौष्टिक तत्त्व सोसेर हुर्कन्छ । जुकाको औषधी स्वास्थ्य चौकीबाट निशुल्क वितरण भएको समयमा अनिवार्य खुवाउनुपर्छ ।
आँखा पाक्ने : बालबालिकाको आँखा चिलाउने, रातो हुने र पिप कचेरा आएमा आँखामा सङ्क्रमण भएको हुुन सक्छ । यस्तो बेलामा सफा पानीले आँखामा पटकपटक सफा गर्ने र सफा रुमालले पुछ्नुपर्छ । जथाभावी औषधी आँखामा राख्नु हुँदैन । यसका लागि आँखाको सरसफाइ गर्नुकोसाथै चिकित्सकको सल्लाह लिएर नपाक्ने मलम र झोल औषधी राख्नुपर्छ ।
कान पाक्ने : कान पाकेको बालबालिकाले छिनछिनमा कान चिलाउने, कोट्याउने गर्दछ । कानको भित्री भाग सजिलै देख्न नसकिने हुनाले राम्ररी जचाउनुपर्छ । बालबालिकालाई चिकित्सकसँग परामर्श गरी कानमा हाल्ने औषधी राख्ने र निको नभएसम्म स्याहार गर्नुपर्छ । अन्यथा रोग जटिल भएर बहिरो हुने सम्भावना हुन्छ ।
एलर्जी : बालबालिकालाई कुनै औषधी, खानेकुरा, बोटबिरुवाको भुवा, झूसिल्किरा आदिले शरीरमा नकारात्मक प्रतिक्रिया भएको अवस्थालाई एलर्जी भनिन्छ । एलर्जी हुने बित्तिकै बालबालिकामा भमरा आउनेदेखि लिएर, चिलाउने, खोकी लाग्ने, हाछ्यँु आउने तथा श्वासप्रश्वासमा गाह्रो हुने आदि विभिन्न लक्षण देखापर्छ । यसो हुने बित्तिकै चिकित्सकसँग परीक्षण गरार्ई औषधी उपचार गर्नुपर्छ । नेपाल सरकारका स्वास्थ्य संस्थाहरूबाट निःशुल्क नवजात शिशु (जन्मेदेखि २८ दिन सम्मको) उपचार गर्ने व्यवस्था मिलाइएको छ । नवजात शिशु भर्ना भई उपचार गर्दा उपचारत रहँदासम्मको लागि सम्पूर्ण उपचार सेवा निःशुल्क उपलब्ध गराइने छ । स्रोत : युनिसेफ