काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालमा विवाद भएपछि सुरक्षामा खटिएका प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा र एकजना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई निलम्बन गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले वडा प्रहरी कार्यालय बैदाम, कास्कीका प्रमुख डिएसपी बेदप्रकाश जोशीको सरुवा र जिल्ला प्रहरी कार्यालय, कास्कीका इन्स्पेक्टर मदन श्रेष्ठलाई निलम्बन गरेको हो ।
अस्पतालमा उपचाररत एकजना महिलाको मृत्युपछि उत्पन्न विवादमा ‘विवादास्पद अभिव्यक्ति’ दिएका श्रेष्ठलाई निलम्बन गरिएको प्रधान कार्यालयले जनाएको छ । वडा प्रहरी कार्यालय बैदामको क्षेत्रमा बिरामीका आफन्तले प्रदर्शन गरेका थिए ।
इन्स्पेक्टर श्रेष्ठ जिल्ला प्रहरी कार्यालयबाट प्रदर्शन स्थलमा खटिएका थिए । विवादमा सुरक्षाका लागि खटिएका इन्स्पेक्टर श्रेष्ठले चिकित्सक र मृतकका आफन्तबीच ‘डाक्टर कुटेर आएँ’ भन्ने अभिव्यक्ति दिएका थिए ।
इन्स्पेक्टर श्रेष्ठले पीडित परिवारका आफन्त तथा शुभचिन्तकको आक्रोसित भीडमा पुगेर ‘चिकित्सकलाई लाठी चार्ज र ओठ नै फुट्ने गरी हाने’ भनेको भिडियो मंगलबार सामाजिक सञ्जालमा आएको थियो ।
यता, बैदामका डिएसपी जोशीको कमजोर कमाण्डले घटनाले उग्र रुप लिएको बताइएको छ । सोही कारण देखाएर प्रधान कार्यायले जोशीको प्रहरी प्रधान कार्यालयमा सरुवा गरेको हो ।
प्रहरी प्रधान कार्यालयले बैदाममा डिएसपी राजेन्द्र श्रेष्ठलाई सरुवा गरेको छ । श्रेष्ठ प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागमा कार्यरत थिए ।