जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) यज्ञविनोद पोखरेलको कडा निर्देशनपछि दुई प्रहरीलाई कानुनी कारबाहीको दायरामा ल्याइएको छ ।
सर्वसाधारण व्यापारीको ३१ थान मोबाइलसँगै दुई लाख रुपैयाँ ठग्ने बहालवाला एकजना प्रहरी सहायक हवल्दार र एकजना प्रहरी जवानलाई कानुनी कारवाहीको दायरामा ल्याइएको हो ।
डीआईजी पोखरेलको निर्देशनमा आरोपीद्वय जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत सहायक हवलदार दीपेन्द्र कुमार राज र जवान रोशन कुमार यादव प्रहरी हिरासतमा पुगेका हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषामा दुवैजनामाथि आइतबार आपराधिक विश्वासघात र आपराधिक लाभ शीर्षकमा दुद्दा दर्ता भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसएसपी श्याम कुमार महतोले बताए ।
आइतबार नै जिल्ला अदालत धनुषाबाट ७ दिनको म्याद थमाएर दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर घटना सम्बन्धी अनुसन्धान भइरहेको छ ।
महोत्तरीको महोत्तरी गाउँपालिका-५ घर भएका सहायक हवलदार दीपेन्द्र र सुनसरी जिल्लाको देवागन्ज गाँउपालिका-२ घर भएका प्रहरी जवान रोशन मिलेर जनकपुरका एकजना व्यापारीसँग यही ८ फागुनमा विभिन्न ब्राण्डको ३१ थान मोबाइल खरिद गरेका थिए ।
पछि मोबाईल फिर्ता गर्ने भनेर व्यापारीसँग दुईलाख रुपैयाँसमेत लिएर पटकपटक माग गर्दा पनि फिर्ता नगरेपछि बाध्य भएर पीडित व्यापारीले १३ फागुनमा उनीहरू विरुद्ध प्रदेश प्रहरी कार्यालयमा लिखित उजुरी दिएका थिए ।
उजुरीपछि सहायक हवल्दार दीपेन्द्र र जवान यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि उनीहरुकै बयानको आधारमा ३१ थान मोबाइल र दुईलाख मध्ये ९५ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।