अप्पन जनकपुर
सर्लाही । सर्लाहीको लालबन्दीबाट प्रहरीले ठुलो परिमाणमा अबैध लागुऔषध गाँजा बरामद गरेको छ। प्रहरीले लालबन्दी नगरपालिका–१४ डाईनी खोलास्थित लंगुर डाँडा भन्ने विकट गाउँमा लुकाइछिपाई राखेको अवस्थामा १६ क्वीन्टल १२ किलो ८५० ग्राम गाँजा बरामद गरेको हो।
काठले बनेको दुई तल्लाको घरमा गाँजा भण्डारण गरेर राखेको सूचनाको आधारमा प्रहरीले गएराती झण्डै ६ घण्टा लगाएर छापा मारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक रविन्द्रबहादुर सिंहले जानकारी दिए।
घर तथा शौचालयमा समेत टिन र प्लाष्टिकको ड्रममा प्याक गरेर राखेको अवस्थामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट गाँजा प्याक गरेको १५ थान टिनको ड्रम, एक थान पाँच सय लिटर क्षमताको प्लाष्टिकको ड्रम, गाँजासहितको बोरा, गाँजा च्याप्ने मेसिन एक थान, दुई थान गाँजा च्याप्न प्रयोग भएको जग समेत बरामद गरेको छ।
छापा मार्न प्रहरी आउँदै गरेको सूचना पाएका घरधनी तथा आसपास गाउँका स्थानीय भने राती नै गाउँ छाडेर फरार भएका प्रहरीले जनाएको छ। राती ८ बजेदेखी बिहान ३ बजेसम्म प्रहरीले उक्त घर र आसपास गाउँमा छापामारी अभियान चलाएको थियो। घटनास्थलमा प्रहरी उपरीक्षकको कमाण्डमा ८० जना र सशस्त्र प्रहरी नायव उपरीक्षकको कमाण्डमा ४५ जना परिचालन भएका थिए।
उक्त स्थानमा उत्पादन भएका गाँजा विभिन्न नेपाली तथा भारतीय बजारहरुसम्म तस्करी हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। जिल्ला तथा जिल्ला बाहिरका अबैध गाँजा तस्करी घटनामा समेत उक्त स्थानबाट लिएर गएको गाँजा बरामद भएपछि प्रहरीले गाँजा भण्डारणको आशंकामा निगरानी बढाएको थियो। घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।