जनकपुरधाम । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर संगठनमा सुशासन कायम गर्न लागेका छन् । संगठनमा सुधार गर्ने उनको अभियान केही अधिकृतहरुको स्वार्थमोहका कारण ओझेलमा परेको छ ।
महानिरीक्षक कुँवरले परिवर्तन गर्न खोजे पनि केही अधिकृतका कारण प्रहरी संगठनको छवि धमिलिने गरेको छ । यस्तै संगठनको छवि धमिल्याउने काम गरेका छन्–नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कार्कीले ।
धनुषाको ढल्केबरमा रहेको नेपाल प्रहरी विशेष सुरक्षा गणका गणपति कार्कीले मिथिला नगरपालिका-१० लालगढमा आफ्नो घर बनाउँदैछन् । तर, उनले निजी घर बनाउन गणकै प्रहरी र गाडी प्रयोग गरेको भेटिएको छ ।
एसपी कार्कीले मजदुरका रूपमा गणकै प्रहरी कर्मचारी र निर्माण सामग्री ढुवानी गर्न गणकै गाडी प्रयोग गरेको पाइएको हो । उनले दैनिक ६ देखि ८ जनालाई आफ्नो घर बनाउने काममा लगाउने गरेको स्रोत बताउँछ ।
प्रहरी जवानहरू मुकेश यादव, अर्जुन गरूधामी, कपिलदेव यादव, प्रहरी कार्यालय सहयोगी रामदयाल राम र एसपी कार्कीको सुरक्षा गार्डसमेत रहेका प्रहरी सहायक हवलदाल वेदबहादुर राई घर निर्माणमा खटिने गरेको स्रोतको दाबी छ ।
यता, एसपी कार्कीले वन कर्मचारीलाई थर्काएर प्रहरी गाडीमा काठको गोलियाहरु समेत लगेको बताइन्छ । वन कर्मचारीलाई पदको धाक देखाउँदै एसपी कार्कीले आफ्नो घर बनाउन सरकारी काठ लगेका हुन् ।
मधेस प्रदेश प्रहरीले भने व्यक्तिगत काममा प्रहरी र सरकारी सवारी साधान प्रयोग गर्न नमिल्ने बताएको छ । लालगढ नजिकै आफ्नै चौकी समेत बनेकाले कोहीबेला त्यतातिर गएको हनुसक्ने मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सुवास बोहराले जानकारी दिए ।
प्रवक्ता बोहराकाअनुसार एसपी कार्कीले घर बनाएको ठाउँ लालगढमै प्रहरीकै रिफ्रेस सेन्टरको काम हुँदैछ । त्यहि भएर कहिलेकाहिँ त्यहाँ जाँदा सामान्य सहयोग गरेको हुनसक्ने प्रहरीको भनाई छ । यस विषयमा एसपी कार्कीसँग सम्पर्क गर्न खोज्दा सम्पर्कमै आएनन् ।