अप्पन जनकपुर
काठमाडौं । नेकपा एमालेले ‘एक व्यक्ति एक पद लागू’ गर्ने भएकाे छ । अध्यक्ष केपी शर्मा ओलीका हकमा भने याे प्रावधान लागू हुने छैन ।
बुधबार बसेको एमाले सचिवालय बैठकले नेताहरूकाे नयाँ जिम्मेवारीको आधार तयार गरेको छ । यसअघि गत असारमा एमालेले नेताहरूकाे जिम्मेवारी हेरफेर गर्दै फरक-फरक भूगोल र क्षेत्रको जिम्मेवारी दिएको थियो । एक वर्षकाे कामकाे मूल्यांकन गर्दै नेताहरूलाई नयाँ जिम्मेवारी दिइन लागेकाे हाे ।
आजको बैठकले नयाँ कार्य विभाजनको आधार तयार पारेको छ । जसअनुसार अब नेताहरूले दोहोरो जिम्मेवारी पाउने छैनन् ।‘एक व्यक्ति, एक जिम्मेवारी’नीतिका रूपमा निर्णय भएकाले अब सरकारमा जानेहरूले पार्टी पदीय जिम्मेवारी छाड्नुपर्नेछ ।
अध्यक्ष केपी शर्मा ओलीले भने पार्टी अध्यक्ष र संसदीय दलको नेता दुवै जिम्मेवारी सम्हाल्नेछन् । कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्ने सहमति भइसकेकाले उनले पार्टी र संसदीय मोर्चाको नेतृत्व गर्नेछन् ।
एमालेले २०५१ सालबाटै एक व्यक्ति, एक पदकाे नीति लिएकाे थियाे । तर, पछि साे नीति कार्यान्वयन हुन सकेकाे थिएन । अब स्थिर सरकार निर्माण हुने भएपछि एमालेले साे नीति पुनः लागू गर्न लागेकाे हाे ।