वीरगञ्ज । नेपाल-भारतको मुख्य नाका वीरगञ्ज फेरि सुन तस्करीको हब बन्दै गएको रहस्य उदाङ्गो भएको छ । गैरकानुनी तवरले तस्करहरूले नेपाललाई प्रयोग गर्दै सुन तस्करी गर्नु नयाँ कुरा होइन, तर हालसालै सुन तस्करहरूले वीरगञ्जलाई भारतीय विभिन्न सहरहरूमा सुन तस्करी गर्ने ट्रान्जिट पोइन्ट बनाएका छन् ।
भारतको राजस्व खुफिया निर्देशनालय (DRI) पटना शाखाले शनिबार २ किलो अवैध सुनसहित ४ जनालाई नियन्त्रणमा लिएको छ । (DRI) का अनुसार, वीरगञ्जको मुख्य भन्सार हुँदै रक्सौल प्रवेश गर्ने UP 50 CS 0050 नम्बरको स्कार्पियो गाडीबाट २ किलो सुन बरामद गरिएको हो । उक्त गाडीबाट १ महिला र ३ पुरुषलाई पक्राउ गरिएको जानकारी प्राप्त भएको छ ।
विशेष सूचनाको आधारमा पटना शाखाबाट खटिएको (DRI) टोलीले उक्त गाडीलाई रोकी खानतलासी गर्दा सुन बरामद भएको हो । अनुसन्धानका क्रममा तस्करहरूले दुबईबाट काठमाडौं हुँदै वीरगञ्जको नाका पार गरेर रक्सौल, बिहारको बाटो प्रयोग गरी दिल्लीसम्म सुन तस्करीको नेटवर्क फैलाएको जानकारी प्राप्त भएको छ । विशेष सुराकीका आधारमा (DRI) ले उक्त सुन तस्करीको प्रयास विफल पार्दै तस्करहरूलाई नियन्त्रणमा लिएको हो ।
यो घटनाले वीरगञ्जलाई सुन तस्करीको केन्द्रबिन्दु बनाएको पुष्टि गर्दै, सुरक्षाकर्मीहरूलाई थप सतर्क रहन आवश्यक भएको देखाएको छ ।