काठमाडौं । भारतीय क्रिकेट टोलीका अलराउन्डर हार्दिक पाण्ड्याले बिहीबार आफ्नो सामाजिक सञ्जालमार्फत् नतासा स्टान्कोभिकसँग सम्बन्ध बिच्छेद गरेको बताएका छन् । उनीहरूले २०२० मा विवाह गरेका थिए ।
‘चार वर्ष सँगै बसेपछि नतासा र मैले आपसी बाटो अलग गर्ने निर्णय गरेका छौं । हामीले सँगै रहन सक्दो प्रयास गर्यौं । विश्वास गर्छौं कि यो निर्णय हामी दुवैको लागि हितमा छ । यो हाम्रो लागि कठिन निर्णय थियो,’ पाण्ड्याले आफ्नो इन्स्टाग्राममा लेखेका छन् ।
उनले छोराका लागि दुवै जना राम्रो अभिभावक बन्ने पनि बताएका छन् । सर्वियन मोडल नतासा र पाण्ड्याबीच २०२० को मेमा विवाह भएको थियो । उनीहरुको तीन वर्षको छोरा छन् ।
उनीहरूको सन् २०१८ मा साथीमार्फत् भेट भएको थियो र त्यसपछि डेटिङ सुरु भएको थियो ।
गत मेमा उनीहरुको वैवाहिक जीवनमा समस्याको आएको अड्कलबाजी सुरु भएको थियो । जब नतासाले आफ्नो इन्स्टाग्राम ह्यान्डलबाट ‘पाण्ड्या’ थर हटाएकी थिइन् । आइपिएल २०२४ मा नतासा पाण्ड्याको कुनै पनि खेलमा उपस्थित भएकी थिइनन् ।