वीरगन्ज । चौधरी ग्रुपद्वारा सञ्चालित दिल्ली पब्लिक स्कुलको विद्यार्थी ओसार्ने स्कुल बसले भारतबाट मालसामानको तस्करी गर्दै आएको खुलासा भएको छ । विद्यार्थी ओसार्ने बहानामा दिल्ली पब्लिक स्कुलको बसमा भारतको रक्सौलबाट नेपालमा मालसामानको तस्करी हुँदै आएको रहस्य खुलेको हो ।
बाराको परवानीपुर गाउँपालिका-४ चैनपुरमा सञ्चालित दिल्ली पब्लिक स्कुलको विद्यार्थी ओसार्ने प्रदेश २-०३-००१ क ०११६ नम्बरको स्कुल बसबाट राजश्व छलेर भारतबाट वीरगन्ज ल्याउँदै गरिएको ३ लाख ६३ हजार ७ सय रुपैयाँ मूल्यको कपडा र मोबिल सशस्त्र प्रहरीले बरामद गरेको छ ।
शुक्रबार रक्सौलमा विद्यार्थीहरूलाई पुर्याएर फर्किँदै गरेको उक्त स्कुल बसलाई वीरगन्ज भन्सार क्षेत्रमा रोकेर सशस्त्र प्रहरीले चेकजाँच गर्दा बसभित्रबाट राजश्व छलीको २ लाख ६३ हजार ७ सय रुपैयाँ मूल्य बराबरका कपडा र मोबिल बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालले जानकारी दिए ।
बरामद उक्त सामान र बससहित बसका चालक बाराको परवानीपुर गाउँपालिका-४ का ३२ वर्षीय किशोरी राम र सहचालक वीरगन्ज-११ श्रीपुरका ४२ वर्षीय दीपक गिरीलाई पनि नियन्त्रणमा लिइएको रिजालले जानकारी दिए ।
बरामद सामानको २ लाख ६३ हजार ७ सय र बसको ३० लाख गरी कूल ३२ लाद ६३ हजार रुपैयाँ मूल्यांकन गरेर चालक र सहचालकसहित आवश्यक कारबाहीका लागि शुक्रबार नै वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए ।
प्रकशित मिति : 2024-07-20
सम्बन्धित