मोरङ । बि.पि. नेत्र प्रतिष्ठान, पूर्वाञ्चल आँखा, कान, नाक, घाँटी तथा पुन: स्थापना सेवा केन्द्र र सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेश सौंठासँगको सहकार्यमा मोरङ जिल्लाको रतुवामाई नगरपालिका ६ स्थित सशस्त्र प्रहरीको सुरक्षा बेश सौंठामा संचालित एक दिने नि:शुल्क आँखा शिविर शुक्रवार सम्पन्न भएको छ ।
शिविरमा सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेश सौंठाको कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक अजय कुमार मण्डलले निस्वार्थ रूपमा सेवा प्रदान गरी आँखा शिविर कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने दृष्टि बिशेषज्ञ डा. राम बृक्ष शाह, नेत्र साहायक सोनिका पाण्डे र कार्यालय सहायक बिष्णु पराजुलीलाई प्रशंसापत्र प्रदान गर्नुभयो । कुनै पनि व्यक्तिले समयमा आँखाको ज्योति गुमाउन नपरोस् भन्ने उद्देश्यले संचालन गरिएको यस शिविरबाट आँखा सम्बन्धी देखिने समस्याको पहिचान भई उपचारमा सहयोग पुग्ने अपेक्षा रहेको उहाँले उल्लेख गर्नुभयो ।
शिविरमा सशस्त्र प्रहरी कर्मचारी, प्रहरी कर्मचारी, विद्यार्थी तथा सर्वसाधरण गरी कुल ७० जनाको आँखा परीक्षण गर्नुका साथै नि:शुल्क चस्मा तथा आवश्यक औषधिहरू समेत वितरण गरिएको थियो । सशस्त्र प्रहरीले गाँउमै निःशुल्क आँखा शिविर आयोजना गरेको हुँदा स्थानीयहरु पनि हर्षित भएका छन् । शिविरमा ईलाका प्रहरी कार्यालय सिजुवा मोरङका प्रहरी निरीक्षक दिपक खरेल, अस्पतालका चिकित्सकहरु, पत्रकारसहित स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।