2024-11-24

Close

जनकपुरधाम । मधेशका जिल्लाहरूमा भारतमा उत्पादित रजनीगन्धा, राजनीवास, पान पराग, पुकारजस्ता गुट्खाको अवैध कारोबार बढेको छ ।

प्रहरी र भन्सारकै कर्मचारीको मिलेमतोमा विभिन्न नाकाबाट सुर्तीजन्य पदार्थ (गुट्खा) को तस्करी हुने गर्छ । सरकारी संयन्त्रसँग सेटिङ गरेर बलेकिया (तस्कर) ले अवैध रुपमा गुट्खा भित्र्याउने गर्छन् । उनीहरूले १० देखि १५ प्रतिशत थप रकम लिन्छन् ।

बलेकियाले भित्र्याएको गुट्खा प्रायः चिया पसल, पान पसल र होटलमा पाइन्छ । पछिल्लो समय गुट्खा सेवनमा १०/१२ वर्षका बालकहरू बढी रहेको बताइन्छ । गुट्खा सेवन गर्ने अधिकतम २० देखि ४० वर्ष समूहका युवा छन् ।

सुर्तीजन्य पदार्थको बिक्रेताले क्रेताको उमेर यकिन गर्नका लागि निजको नागरिकताको प्रमाणपत्र, जन्म दर्ता प्रमाणपत्र, राहदानी, सवारी चालक अनुमति पत्र, मतदाता परिचयपत्र वा राष्ट्रिय परिचयपत्र जस्ता उमेर खुल्ने प्रमाण माग गर्न सक्नेछ भन्ने व्यवस्था कानूनमा गरिएको छ । तर, कार्यान्वयन भइरहेको छैन ।

सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन २०६८ ले कूल भागको ९० प्रतिशत भागमा ‘सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक रहेको’ उल्लेख गर्नुपर्ने हुन्छ । भारतमा उत्पादित अधिकांश गुट्खामा ‘सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक रहेको’ उल्लेख गरिएको हुँदैन । यद्दपी नेपाली बजारमा खुलमखुल्ला कारोबार भइरहेको छ ।

भारतबाट सुर्तिजन्य पदार्थ (गुट्खा) अन्तशुल्क र भ्याटमा दर्ता भएको फर्म (कम्पनी) ले मात्र भन्सार काटेर निर्यात गर्न पाउने कानूनी व्यवस्था रहेको जनकपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र बस्नेत बताउँछन् ।

तर, राजश्व तिरेर गुट्खा भित्रिएको रेकर्ड भन्सार कार्यालयसँग छैन । प्रमुख भन्सार अधिकृत बस्नेत भन्छन्, ‘गुट्खाबाट कति भन्सार उठेको कुरा थाहा भएन । एक पटक हेर्नुपर्छ ।’ अन्तशुल्क र भ्याटमा दर्ता व्यवसायीले मात्र गुट्खाको कारोबार गर्न पाउने उनको भनाई छ ।

बजारमा त चिया पसल र पान पसलहरुमा पनि गुट्खा छ्यापछ्याप्ती पाइन्छ नी भन्ने जिज्ञासामा उनले भने, ‘यदि त्यस्तो छ भने बजार अनुगमन गर्नुपर्ने हुन्छ ।’

बजार अनुगमन भने भन्सार कार्यालयको कार्यक्षेत्रमा नपर्ने गरेको उनले बताए ।

के भन्छन् प्रहरी अधिकारी??
मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सुवासचन्द्र बोहराले खुल्ला सिमानाका कारण लुकाइछिपाइ गुट्खा भित्रिने गरेको बताउँछन् ।

‘बजारमा अवैध रूपमा गुट्खाको कारोबार भइरहेको होला’, उनले भने, ‘पहिलो कारण ओपेन बोर्डर छ । दोस्रो कारण बजार अनुगमन भइरहेको छैन ।’

उनले बोर्डरमा कडाइ र बजार अनुगमन गर्दा गुट्खाको अवैध कारोबार रोकिने बताए । सहायक प्रमुख जिल्ला अधिकारीको संयोकत्वमा बजार अनुगमनको समिति रहेको भन्दै उनले त्यो समितिले काम गर्नुपर्ने बताए ।

उनले भने, ‘बोर्डरमा बस्ने प्रहरी आफैं सतर्क हुनुपर्छ । त्यति गर्दागर्दै बजारमा भित्रिएको छ भने अनुगमन समितिले बजारमा अनुगमन गरी अवैध गुट्खाहरु जफत गर्नुपर्छ ।’

गुट्खाले पैसा र स्वास्थ्य बर्बाद
गुट्खाको सेवनले क्यान्सरजस्ता घातक रोग लाग्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् । अत्यधिक गुट्खा र सुर्तीजन्य पर्दाथको सेवनले शारीरिक तौल कम हुने, पेट, फोक्सो, घाँटी र मुखमा प्रत्यक्ष असर पर्ने गरेको प्रादेशिक अस्पताल जनकपुरधामका डा. कृष्ण यादवले बताए ।

उनका अनुसार सुर्तीजन्य पदार्थ र जर्दाको मिश्रण गरी गुट्खा बनाइने हुँदा सेवनकर्तालाई क्यान्सर हुने बढी सम्भवना रहन्छ । यसमा अति सुगन्धित र विषादी तत्वहरू हाइड्रोकार्बन नाइट्रोजेमिन र विभिन्न किसिमका नशालु रासायनिक पदार्थको समिश्रण गरी उत्पादन गरिन्छ । यसलाई प्राणघातक तत्व भने पनि हुन्छ ।

गुट्खा सेवनबाट वर्षेनी करोडौं रूपैया भारत पुग्ने गरेको छ । मधेशमा ८ जिल्ला छन् । जनकपुरधाममै गुट्खा बेच्ने करिब ५ सय बढी पान पसल, चिया पसल र होटल छन् । अधिकांश पसलले दैनिक ५ सयदेखि १ हजारसम्मको गुट्खा बेच्छन् । कतिपय नाम चलेका पान र चिया पसलले दैनिक ५ सयसम्म रजनीगन्धा नै बेच्छन् ।

एउटा रजनीगन्धाको ४५ रूपैयाँ, राजनीवासको १० रूपैयाँ र अन्य कतिपय गुट्खाको ५ रूपैयाँ पर्छ । यसरी हेर्दा मधेशमा वर्षेनी करोडौंको गुट्खा कारोबार भइरहेको छ ।

अहिले युवा जमातमा रजनीगन्धा र राजनीवास खाने सौख नै देखिन्छ । कतिपय यूवाले दैनिक ५ देखि १० वटासम्म रजनीगन्धा, राजनीवास वा अन्य गुट्खा सेवन गर्छन् । उनीहरु गुट्खामै ठूलो रकम खर्चिने गरेका छन् ।

गुट्खाजन्य पदार्थले यूवाहरुको स्वास्थ्य जोखिममा पार्नुका साथै वर्षेनी करोडौं रुपैयाँ भारत पुग्ने गरेको यूवा अभियानी शैलेन्द्र यादवले बताए ।

उनले भने, ‘भारतीय सुर्तीजन्य पदार्थको अवैध कारोबार रोक्न सरकारी संयन्त्र सक्रिय हुनुपर्छ ।’

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर