2024-11-24

Close

सन्तोष यादव
जनकपुरधाम । ‘दाइजोभक्षी’ परिवारमा विवाह हुँदा फेरि मधेशमा एक चेलीले मृत्युवरण गरेकी छन् । श्रीमान र सासूबाट निरन्तर दाइजो र नगदका लागि प्रताडना भोग्दै आएकी रिंकी जयसवालले अन्ततः मृत्युवरण गरेकी छन् ।

गत साउन ८ गते बिहान करिब ९ बजे रिंकी आफ्नै बेडरुममा मृत भेटिइन् । उनी सलको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । घटनालाई माइती पक्षले शंकास्पद मानेको छ । श्रीमान र सासूविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर भएको छ ।

उदयपुरको कटारीकी रिंकीको जनकपुरधाम- ४ का मनिष चौधरीसँग २०७४ माघ २४ मा सामाजिक रीतिरिवाजअनुसार विवाह भएको थियो । विवाहमा आफूहरुले नगद र सुनचाँदीका गरगहना दाइजो दिएको माइती पक्षले जनाएको छ । मृतक रिंकीका भाइ अमन जयसवाल भन्छन्, ‘विवाहमा १५ लाख नगद, १० तोला सुन, २० तोला चाँदी, फर्निचर र अन्य सरसमान दिएका थियौं, तर विवाहपछि पनि दाइजो नपुगेको भनेर माग्ने काम भइरह्यो । पछिल्लो पटक ५ लाख मागेका थिए ।’

विवाहको एक वर्ष नबित्दै थप दाइजो माग्न थालिएको अमनले नेपालप्रेससँग बताए ।

‘ठेकापट्टाको काम गर्छु भनेर ३ वर्ष अगाडि ६ लाख मागेको थियो । नदिएपछि दिदीलाई यातना दिन थाल्यो’, उनले भने, ‘त्यसपछि बाध्य भएर ६ लाख नै दियौं । यसबाहेक घर खर्च पनि मेरो बुवाले पटकपटक गरी ४ लाखभन्दा बढी रकम दिनुभएको छ ।’

अमनका अनुसार दिदीलाई सधैं माइतीबाट पैसा लिएर आउनु भनेर भिनाजु मनिषले दबाब दिइरहन्थे ।

‘पछिल्लो समय पनि थप दाइजोका लागि दबाब र यातना दिइरहेपछि मेरो बुवाले पैसा हुनेबित्तिकै पठाइदिने भन्नुभएको थियो’, उनले सुनाए ।

मृतक रिंकीका श्रीमान मनिष लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र श्रीराम युवा कमिटीमा आवद्ध छन् ।

रिंकीलाई थप दाइजोका लागि यातना दिएर आत्महत्या गर्न बाध्य पारेको भन्दै माइती पक्षले उनका श्रीमान मनिष र सासू उर्मिला देवीमाथि आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता गराएको छ ।

रिंकीका ६ वर्षका छोरा जयनसु चौधरी युकेजीमा पढ्छन् । आमाले आत्महत्या गरेको दिन उनी घरमै थिए । घटनापछि जयनसुलाई माइती पक्षले लगेको छ ।

मामा अमन भन्छन्, ‘भान्जा जयनसुलाई हामीले राखेका छौं । उनी त्यहाँ (बुवा) सँग बस्दैनन् । अदालतले के गर्छ, त्यहीअनुसार गर्छौं ।’

मुद्दा फाँटका प्रहरी निरीक्षक सागर कार्कीले रिंकीको आत्महत्याका विषयमा थप अनुसन्धान भइरहेको बताए ।

उनले भने, ‘माइती पक्षले उजुरी दर्ता गराएको छ । थप अनुसन्धान गरिरहेकाले अहिले थप कुरा बोल्न मिल्दैन ।’

यस्तो छ रिंकीका बुबाले हालेको मुद्दाको विवरण

म जाहेरवालाको छोरी रिंकी जैसवालको विवाह विपक्षीमध्येको मनिष चौधरीसँग मिति २०७४/१०/२४ गतेका दिन भएको थियो । सो विवाहमा विपक्षीहरुको दाइजो मागअनुसार नगद रु १५,००,०००/– (पन्ध्र लाख), १० तोला सुन, २० तोला चाँदीका गरगहनालगायत घरको सम्पूर्ण फर्निचरका सामान दिई धुमधामका साथ विवाह गरेको थिएँ । शुरुमा सबै ठीक नै रहेकोमा विवाहको लगभग ५ वर्षपश्चात देखि विपक्षीहरुको चालचलन परिवर्तन भइ विपक्षीमध्येका उर्मिला देवीले तेरो ससुरासँग धेरै पैसा छ, अझ रकम माग भनी विपक्षी मनिष चौधरीलाई भन्दा निज उर्मिला देवीकै कथन मानी मनिष चौधरीले अझ थप दाइजो आफ्नो बुवासँग माग्न म जाहेरवालाको छोरीलाई भन्दा छोरी रिंकी जैसवालले विवाहको बेलामा तपाईंहरुले मागे जत्तिको दाइजो बुवाले दिइसक्नु भएको छ, अझ माग गर्न सक्दिनँ भन्दा विपक्षीहरु मिली मनिष चौधरी अत्यधिक रक्सी सेवन गरी छोरी रिंकी जैसवाललाई कुटपिट गालीगलौज गरी मानसिक तथा शारीरिक यातना दिँदा छोरी रिंकी जैसवालले म जाहेरवालालाई जानकारी गराउँदा म जाहेरवाला विपक्षीहरुको घरमा आई सर समाजका व्यक्तिहरुलाई बसाइ छलफल गर्दा विपक्षीहरुले अब उप्रान्त यस्तो घटना हुँदैन भनी विश्वास गराएको थिएँ । तर विपक्षीहरुको व्यवहारमा कुनै परिवर्तन नआएकोमा छोरीको अवस्था हेरी म जाहेरवालाले पटकपटक रकम विपक्षी मनिष चौधरीलाई दिँदै आएको थिएँ ।

छोरी र ज्वाइँको संसर्गबाट एउटा छोरा हाल वर्ष ६ को जयनशु चौधरीको जन्म भएपश्चात विपक्षीहरु झन् पटकपटक ५०,०००/-, १,००,०००/- गरी प्रायः थप रकम मगाउन छोरीलाई दबाब सिर्जना गर्ने गरेकोले छोरीको कष्ट हेरी ऋण कर्जा खोजेर भए पनि म जाहेरवालाले पटकपटक गरी नगद रु. १०,००,००० विपक्षी मनिष चौधरीलाई दिएको थिएँ । किनभने रकम उपलब्ध नगराउँदा निज विपक्षीहरुले छोरी रिंकी जैसवाललाई कुटपिट गर्ने, गालीगलौज, शारीरिक, मानसिक यातना दिने गरेका थिए । यसै क्रममा म जाहेरवालाको नाति जयनशु चौधरीको विद्यालयमा बिदा भएकोमा छोरी र नाति म जाहेरवालाको घरमा आउन लाग्दा विपक्षी उर्मिला देवीको उक्साहटमा परी मनिष चौधरीले म जाहेरवालाको छोरीलाई फर्किने बेलामा बुवासँग रु ५,००,००० (पाँच लाख लिएरमात्र आउनू नत्र नआउनू भनी पठाएकोमा छोरीले सो कुरा म जाहेरवालालाई बताउँदा अहिले रकम छैन, म व्यवस्था गर्छु, केही समय लाग्नसक्छ भनी जवाफ दिएको थिएँ । हाल वर्तमान आर्थिक मन्दीको कारण सो रकम उपलब्ध गराउन असर्मथ भएकोमा छोरी र नाति आफ्नो ससुराली फर्की आएकोमा निज विपक्षीहरुले छोरी रिंकी जैसवालसँग म जाहेरवालाबाट ल्याउन भनेको रकम माग गर्दा आफूसँग रकम नरहेको जानकारी गराउँदा विपक्षीहरु मनिष चौधरी सो राति अत्यधिक रक्सी सेवन गरी म जाहेरवालाको छोरीलाई कुटपिट गरी गालीगलौज गरी शारीरिक, मानसिक यातना दिएका थिए ।

मिति २०८१/०४/८ गते बिहान छोरी मृतक रिंकी जैसवालले आफ्नो आमा अर्थात म जाहेरवालाको श्रीमतीसँग कुरा गर्दा विपक्षीहरुले दाइजोको रकम नल्याएको कारण अत्यधिक मानसिक प्रताडना दिएको र आफ्नो जीवन नर्कतुल्य बनाएको र आफू निजहरुसँग बस्न नसक्ने अवस्थाको बारेमा जानकारी गराएकोमा म जाहेरवालाको श्रीमतीले हामी रकमको व्यवस्थामा रहेको र हुने बित्तिकै आएर रकम दिउँला भनी सम्झाइबुझाइ गरेकी थिइन् । केहीबेरपश्चात छोरीले आत्महत्या गरेको खबर पाई आफन्तहरुलाई जानकारी गराई म जाहेरवाला पनि उदयपुर कटारीबाट जनकपुर आउँदा नातिलाई घटनाबारे सोध्दा नातिले बताएअनुसार बिहान म जाहेरवालाको श्रीमतीसँग फोनमा कुराकानी भएपश्चात विपक्षीहरुले छोरी मृतक रिंकी जैसवाललाई थप दाइजो नल्याएको भनी अत्यधिक गालीगलौज गरी हातपात गरी घरबाट निकाला गर्ने प्रयास गरी अमानवीय व्यवहार गरेकोले विपक्षीहरुको उक्त कार्यबाट आफ्नो नर्कतुल्य जीवनप्रति वितृष्णा जन्मी बाध्य भई छोरीले आत्महत्याको घटना घटाएको थाहा हुन आएकोले थप दाइजोको लागि प्रताडित गर्ने र आत्महत्या गर्नका निम्ति परिस्थिति सृजना यी विपक्षीहरुले गरेको कारण यस अड्डामा विपक्षीहरुलाई कारबाही गरी न्याय प्राप्त गर्न हेतु गुहार्न आएको छु ।

यसरी विपक्षीहरुले थप दाइजो माग गरी उपलब्ध गराउन नसकेको कारण म जाहेरवालाको छोरीलाई विवाहपश्चात पनि थप दाइजोको कारण प्रताडित गरी शारीरिक मानसिक यातना दिई अपमानजनक व्यवहार गर्दै गालीगलौज हातपातसमेत गरी अमानवीय व्यवहारले गर्दा छोरीको जीवन नै नर्कतुल्य बनाइ दैनिक प्रताडनाको कारण आत्महत्या गर्नेसम्मको परिस्थिति खडा गरी दिएकोले निज विपक्षीहरुलाई हदैसम्म कारबाही होस् । सभार :- नेपालप्रेस

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर