जनकपुरधाम । जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयमा आज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भईरहेको छ । स्थापना भएको छैठौं वर्षमा ९ जना प्रत्यक्ष र ६ जना समानुपातिक सदस्य गरी कुल १५ जना पदाधिकारीको लागि निर्वाचन भईरहेको निर्वाचन समितिका सदस्य शम्भु पोखरेलले जानकारी दिएको छ ।
निर्वाचनको पूर्व तालिका अनुसार बिहान ८ बजेदेखि निर्वाचन सुरु हुने भनिएपनि ८ः४५ बाट सुरु भएको हो । दलतगत प्रतिनिधि र निर्वाचन मत पेटिकामा सिल लगाउने लगायतका कार्यहरु हुँदा ८ः४५ बाट सुरु भएको निर्वाचन २ः४५ सम्म चल्ने उनले बताएको छ ।
निर्वाचनमा ६ वटा दलहरु सहभागि भएका छन् । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघबाट सभापतिका लागि त्रिलोक यादव, नेकपा एमाले निकट अनेरास्ववियुबाट रवि कुमार साह, नेकपा माओवादी, जसपा नेपाल, नेकपा एकिकृत समाजवादीसहितको संयुक्त प्यानबाट श्याम कुमार साह, लोसपा निकट लोसपा विद्यार्थी संघबाट प्रवेश यादव, जनमत पार्टी निकट जनमत विद्यार्थी संघबाट शशिकान्त मण्डल र विप्लव नेतृत्वको विद्यार्थी संगठनबाट प्रयास कौशिक घितालले स्ववियु सभापतिका लागि उम्मेदवारी दिएको छ ।
विश्वविद्यालयमा निर्वाचनका लागि ४ सय ७५ विद्यार्थी मतदाता रहेको निर्वाचन समितिका सदस्य पोखरेलले बताउनुभएको छ । अहिलेसम्म ७५ प्रतिशत मतदान भईसकेको उनले जनाएको छ ।
प्राविधिक धारका यस विश्विद्यालयमा निर्धारित समय तालिका अनुसार ९० प्रतिशत मत खस्ने अनुमान निर्वाचन समितिको छ ।
निर्वाचन शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा भईरहेको सदस्य पोखरेलले बताएको छ । निर्वाचनमा सहभागि विद्यार्थी मतदाता र उम्मेदवारहरुले आचारसंहिता पूर्ण रुपमा पालनका गरिरहेको बताइएको छ । समितिले अनिर्वाच गरेको पोशाकमा सबैले मतदान गरिरहेको छ ।
शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ । निर्वाचनका लागि विनोद कुमार कर्णको संयोजकत्व, दिलिप कुमार यादव सदस्य सचिव र शम्भु पोखरेल सदस्य तोकिएको छ ।