अप्पन जनकपुर
राजकरण महतो/विजय कुमार सिंह
टुटेश्वर (महोत्तरी)
हर हर महादेवे
जय शम्भू
यस्तै गानले टुटेश्वरनाथ महादेव मन्दिर श्रावन महिनाभरी गुञ्जायमान हुन्छ। जहाँ भक्तजनको थामिनसक्नु घुइँचो हुन्छ। कोही धन माग्न आएका छन् त कोही सन्तान। कोही मनोकामना पूरा भएपछि टुटेश्वरनाथलाई जलफूल चढाउन लामबद्ध छन्। आँखाले देखेसम्म भक्तजनको लाम छ। कानले सुनेसम्म टुटेश्वरनाथ महादेवको महिमा गान छ। टुटेश्वरलाई ‘नेपालको बाबाधाम’ भनेर चिनिन्छ। लाखौं भक्तजनको घुइँचो लागे पनि प्रचारप्रसारको कमीले टुटेश्वरनाथ महादेव मन्दिर गुमनाम जस्तै छ। यसले धामका रूपमा चर्चा कमाउन सकेको छैन।
हिन्दू धर्मालाम्बीहरूको आस्था, विश्वास र मोक्ष फल प्राप्तिको स्थल हो टुटेश्वरनाथधाम महोत्तरीको बर्दिबास नगरपालिका-५ स्थित टुटेश्वरलाई नेपालको ‘बाबाधाम’ भनेर पनि चिनिन्छ। समुद्री सतहबाट २६८ मिटर उचाइमा अवस्थित टुटेश्वरनाथ मन्दिर अवस्थित छ। जहाँ श्रावण महिनामा नेपाल र भारतका दशौं लाख भक्तजनहरू पूजापाठ गर्न, जल चढाउन र मेला भर्न आउँछन्।
तर, मिथिलाञ्चलको प्रसिद्ध स्थान टुटेश्वरधाम प्रचारप्रसार र विकासको दृष्टिकोणबाट निकै पछाडि रहेको बर्दिबास नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष कहारमान स्यांग्वाले बताए। मधेशको कैलाश पर्वतको नामले चर्चा बटुलेको यो मन्दिरको संरक्षण, सम्वर्द्धन र विकासमा सरोकारवालाहरूको ध्यान गम्भीर हुनुपर्ने उनले सुनाए।
उनका अनुसार धनुषा र सिरहाको साँधमा पर्ने कमला नदीको उत्ताहिनी, सर्लाही र रौतहटको बागमती र महोत्तरीको गौशालास्थित माण्डवी गंगाको किनारबाट जल लिएर भक्तजनहरू टुटेश्वरनाथ महादेवलाई जल चढाउन जान्छन्।
प्राचीन, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाका रूपमा चर्चा पाएको टुटेश्वरनाथ महादेव मन्दिर स्थलको उत्खनन, यसको अध्ययन, अनुसन्धान हुनु पर्ने माग गरिएको छ। यसका लागि पुरातात्विक विभागलाई पत्राचार गरिने बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार छेत्रीले बताए।
३४ वर्षदेखि डण्ड काट्दै बासुदेव
मन्दिरको विकास र संरक्षणका लागि सबैले आआफ्नो स्थानबाट पहल गर्दै आएका छन्। महोत्तरीको गौशाला नगरपालिका-४ रजखोरका ७२ वर्षीय पूर्व प्रधानाध्यापक बासुदेव महतोले नेतृत्व गर्दै मन्दिरमा २०२७ सालदेखि भजनकीर्तन सुरु गरेका थिए। त्यसपछि महतोको नेतृत्वमा धनुषा, सिरहा र उदयपुरको संगमस्थल उत्तराहिनी र सर्लाहीको बागमतीबाट डाँक बम सुरु भएको थियो।
धार्मिक तथा प्राचीन मठ मन्दिरका रूपमा ख्याति कमाएको टुटेश्वरनाथ महादेवलाई उनले ३४ वर्षदेखि डण्ड काट्दै जल चढाउँदै आएका छन्। ‘मैले गौशालाको गोलिमाईस्थानस्थित माण्डवी, स्वर्णमती र बरुणमतिको सँगमस्थलबाट जल लिएर करीब १६ किलोमिटर डण्ड काट्दै टुटेश्वरनाथ महादेव मन्दिरमा पूजा गर्दै आएका छौं’, उनले भने, ‘२०४८ सालदेखि निरन्त टुटेश्वरनाथ महादेव मन्दिरको गरिमा बढाउन महतोले डण्ड काट्दै आएको छु।’
डण्डी बमको यात्रा गर्दा भगवान् प्रति आस्था बढ्नुका साथै शारीरिक स्वास्थ्य तन्दुरुस्ती प्राप्त हुने गरेको उनको भनाइ छ। उनी भन्छन्, ‘जब सम्म बाँच्छु, सकुन्जेल डण्डी बमलाई निरन्तरता दिन्छौं।’ उनी जस्ता हजारौं व्यक्तिले डण्डी बम, डाँक बम, कँबरी बाब टुटेश्वरनाथमा जल चढाउँछन्। बोल बम यात्रीहरू मन्दिरका आकर्षण रहेको स्थानीय सञ्चारकर्मी रोशन कुमार महतो सुनाउँछन्।
औझेलमा महाभारतकालीन इतिहास
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको घनजंगलमा पर्ने टुटेश्वरचोकबाट करिब सात किलोमिटर उत्तरतिरको सघन वनक्षेत्र छिचोलेर पुगिन्छ टुटेश्वरधाम। प्राचीन शिवालयका रूपमा ख्याति कमाएको टुटेश्वरनाथ महादेव मन्दिर प्राचीन माण्डवीगङ्गा (मरहा खोला) नदीको पूर्वी किनारको चुरिया पहाडमा अवस्थित छ। पछिल्लो समय यसलाई मधेशको कैदाश पर्व पनि भनिन्छ।
१९८२ सालतिरबाट टुटेश्वरमा फँडानी भइ बस्ती बिस्तार भएको तत्कालीन माइस्थान गाविसका अध्यक्ष धन बहादुर स्यांग्वाले बताए। २००२ सालमा डिठ्ठा गौरीनारायण गिरीले वन फडानी गरी बस्ती बसाउने क्रममा टुटेश्वरमा अति प्राचीन शिवलिङ्ग, पत्थर कुदिएर बनेको बसाहासहित पुरातात्विक महत्त्वका सामग्री फेला परेको प्रेस स्वतन्त्रता सेनानी गोपाल प्रसाद बरालले जनाए। विभिन्न समयमा श्रद्धालु भक्तजनको सरसहयोगबाट मन्दिर निर्माण भएको थियो।
शिवलिङ्ग, बसाहा र अन्य पुरातात्विक महत्त्वका सामग्रीको अध्ययनबाट यसलाई संस्कृति अध्येताहरूले महाभारतकालीन भनेका छन्। यो प्राचीन शिवालय द्वापर युगमा अर्जुनले शिवजीको तपस्या गरी पाशुपतास्त्र प्राप्त गरेका ठाउँ रहेको नेपाल होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल कार्कीले बताए। विभिन्न पुस्तकहरूमा यो मन्दिर चार हजार वर्ष पुरानो रहेको उल्लेख छ।
कहाँ हरायो नदीको नाम??
ऐतिहासिक टुटेश्वरनाथ महादेव मन्दिर वरिपरीका नदीहरूको नामनै परिवर्तन गरिएको पाइएको छ। माण्डवी गंगा, वरुणमति र स्वणर्मति नदीका माझ टुटेश्वरनाथ महादेव मन्दिखर अवस्थित छ। यो ठाउँमा शिवजीलाई पुकारदा मनोवाञ्छित फल पाइने श्रद्धालुहरूको विश्वास छ। प्राचीन यी नदीहरू, जसको मिथिला माहात्म्यमा वणर्न छ, माण्डवीगङ्गा, वरुणमति र स्वणर्मतिको नाउँ पूर्वपश्चिम राजमार्ग बन्नेबेला ठेकदारहरूले बिगारेर मडहा, बेलगाछी र सोनी बनाएका डण्डी बमका अभियन्ता बाबुदेव महतोले गुनासो गरे।
बर्दिबास नगर नेतृत्वले यी नदीहरूको शिवालयसँग अनुन्यास्रित सम्बन्ध रहेको हुँदा पहिलेकै नाउँ कायम गरिदिन पनि उनले आग्रह गरे।
कैलास पर्वत-टुटेश्वरनाथधामलाई सीता सर्किट जोडिने
टुटेश्वरनाथ महादेव मन्दिरलाई मधेशको कैलाश पर्वका रूपमा विकास गर्नका लागि नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेश र बर्दिबास नगरपालिका अन्तर्गतको संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिले चासो लिएको छ। मधेश प्रदेश सरकार, बर्दिबास नगरपालिका, सामाजिक सरोकारवला संघसंस्था, राजनीतिक दल, प्रहरी तथा प्रशासनिक निकाय तथा स्थानीय नागरिक समाजले टुटेश्वरनाथ महादेव मन्दिर र बोलबम मेला प्रचारप्रसार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मन्दिरलाई पर्यटकीयस्थलका रुपमा विकास गरिने मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले बताए। मन्दिरमा विशेष पूजा अर्चना गर्दै उनले यहाँको पूर्वाधार विकास गरेर धार्मिक महत्त्वका पर्यटकीयस्थलका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
‘टुटेश्वर क्षेत्रको विकास, विस्तार र प्रचारप्रसारले यस क्षेत्रकै अर्थतन्त्र मजबुत हुन्छ। यसले स्थानीयको जीविकोपार्जनमा पनि सहयोग पुग्छ ’, मुख्यमन्त्री सिंहले अन्नपूर्णसँग भने, ‘टुटेश्वरनाथ महादेव मन्दिर क्षेत्रको पूर्वाधार विकास र प्रचारप्रसारका लागि बर्दिवास नगरपालिकासँग समन्वय गरेर मधेश प्रदेश सरकारले आवश्यक कदम अगाडि बढाउँछ।’
मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति राज्यमन्त्री शारदा थापाले संस्कृतिको जगेर्ना र पर्यटन प्रवर्द्धनका क्षेत्रमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिइन्। ‘यी सम्पदा हाम्रा पहिचान र समृद्धिका आधार हुन्, यिनको संरक्षण र सम्वर्द्धनमा सबै जना एकजुट हुन आवश्यक छ’, उनले भनिन्।
मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका सचिव राजिव पोखरेलले टुटेश्वरनाथ महादेव मन्दिरलाई सीता सर्किटका रूपमा विकास गरिने बताए। जानकी मन्दिर, धनुषाधाम, टुटेश्वरनाथ महादेव मन्दिर, जलेश्वरनाथ महादेव मन्दिरलाई सीता सर्किटमा जोडेर विकास गरिने उनले बताए।
टुटेश्वरनाथको संरक्षण, सम्वर्द्धन र विकासका लागि यसलाई ट्रस्टमा लान पनि नगर नेतृत्वलाई सुझाएका छन्। त्यस्तै यस ठाउँको विकासका लागि दीर्घकालीन योजना निर्माण र साउने मेला व्यवस्थापनका दुई पाटोमा काम गरिन आवश्यक रहेको बर्दिबास नगरपालिकाकाको संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष हिरा गौतमले बताए।
उनका अनुसार टुटेश्वरधाम मधेश र मुलुककै अन्य भेगका श्रद्धालुका लागि मात्र नभइ छिमेकको भारतका विभिन्न जिल्लाबाट बर्सेनि साउने मेलामा लाखौं श्रद्धालु यहाँ दर्शनका लागि आउने गरेका छन्। यति महत्त्वको स्थल भएर पनि बाटोघाटो, खानेपानी, शौचालय, सुरक्षा र सवारी पार्किङको समुचित प्रबन्ध हुन नसक्नुले श्रद्धालुहरूले अप्ठ्यारो झेल्दै आएका छन्।