अप्पन जनकपुर
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका ९ स्थित डुमरिया बजारमा आफूलाई सादा पोसाकको प्रहरी भनेर पैसा असुली गर्ने एक जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले प्रहरी बनेर ठगी गरिरहेका उनलाई पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको हो ।
रौतहटको माधवनारायण नगरपालिका १ का २४ वर्षीय रमेश साहलाई नक्कली प्रहरी बनी ठगी गर्दै गरेकाे अवस्थामा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईले जानकारी दिए ।
साहले ड्डमरिया बजारमा गएको मंगलबार राति आफू सादा पोसाकको घुमुवा प्रहरी भएकाे भन्दै केही मानिसको जीउको खानतलासी लिँदै पैसा असुलेका थिए । त्यसबारे इलाका प्रहरी कार्यालयमा उजुरी परेपछि प्रहरीले निगरानीका लागि टोली परिचालन गरेको थियो ।