जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मुसहर बालबालिकालाई विद्यालय पठाउन आग्रह गरेका छन् ।
मङ्गलबार धनुषाको विदेह नगरपालिका -९ वैदेहीस्थित स्कुल टोलको निरिक्षण गरेका उनले मुसहर समुदायका अभिभावकसँग आफ्ना बालबालिकालाई विद्यालय पठाउन आग्रह गरेका हुन् ।
प्रत्येक महिना दलित बस्ती अवलोकन गरी त्यहाँको विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा जीविकोपार्जनलगायत समस्याबारे स्थानीयसँग छलफल गर्ने कार्यतालिकाअनुसार मुख्यमन्त्री सिंह मङ्गलबार वैदेही स्कुल टोलको मुसहर बस्ती पुगेका थिए ।
सो अवसरमा उनले बस्तीका घरघरमा पुगेर बालबच्चाको पढाइ, स्वास्थ्योपचार, सरसफाइ, आयआर्जनलगायतका विषयमा जानकारी पनि लिएका थिए ।
आयआर्जनका दृष्टिले लत्ताकपडा र छाक टार्न समस्या नरहे पनि यस समुदायका पुरुषमा जाँडरक्सीको लत रहेको महिलाहरुले मुख्यमन्त्री सिंहसँग गुनासो गरेका थिए ।
उनले मुसहर बस्तीका बच्चाको शिक्षामा पहुँच सुनिश्चित गर्न राज्य र समुदाय दुवै स्तरबाट पहल गर्ने बताए । उनले छोरा र छोरी दुवैको शिक्षामा ध्यान दिन आग्रह समेत गरेका थिए ।