अप्पन जनकपुर
जनकपुरधाम । धनुषाको विदेह नगरपालिका–६ तिनकौरियास्थित श्री जनता नमूना प्राविधिक माध्यमिक विद्यालय गिद्धा बेलापट्टिमा ६०औं राष्ट्रिय बाल दिवस भव्यताका साथ मनाइएको छ ।
दिवसको अवसरमा विद्यालयको आयोजनामा प्रा.वि, नि.मा.वि. तथा मा.वि. गरि ३ वटा मञ्चमा नृत्य गायन, वकतृत्वकला तथा कविता वाचन प्रतियोगिता भव्य रुपमा समापन भएको हो ।
नेपालले प्रत्येक बर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ । प्रत्येक बर्ष महत्वपूर्ण नारा तथा बालबालिकाहरुलाई सहभागीता गराउँदै आइरहेको छ । यस बर्षको कार्यक्रमको नारा ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ रहेको छ ।
सरस्वती माताको तस्वीरमा अबिर, धुप तथा माला अर्पण गर्नुका साथै गमलामा पानी हालेर कार्यक्रम विधिवत रूपमा उद्घाटन भएको थियो । कार्यक्रममा आएका नगर उपप्रमुख, सशस्त्र बल प्रहरी गुल्म महिनाथपुर तथा प्रहरी चौकी गिद्धाका सुरक्षाकर्मीलाई अबिर तथा माला लगाएर सम्मान गरिएको थियो ।
प्रतियोगितामा भाग लिएका विद्यार्थीहरुलाई भदौ ३० गते आइतबार बिहान १० बजे आसमान नेपाल तथा विद्यालयको सहयोगमा सहभागी सम्पुर्णलाई पुरस्कर बितरण गर्ने तथा तिनै तहबाट ५ जना गरि उतकृष्ट बालबालिका तथा किशोरकिशोरीहरुलाई पत्रकार सम्मेलन गरि सम्मान गर्ने राष्ट्रिय किशोर संजाल नेपालका केन्द्रिय सदस्य राजन दासले जानकारी दिए ।
नगर उपप्रमुख आशा देवी झाको प्रमुख अतिथ्यमा आयोजित कार्यक्रम प्रधानाध्यापक पवन कुमार मण्डल, बाल क्लबका अध्यक्ष संतोष दास, राष्ट्रिय किशोर संजाल नेपालका केन्द्रिय सदस्य राजन दासलगायतकाहरुको उपस्थिती रहेको थियो ।