अप्पन जनकपुर
जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले जनकपुर – जयनगर रेल्वेको आम्दानी बढाउन पूर्वाधार निर्माण तथा कार्गो रेल सञ्चालन गर्ने बताउनुभएको छ ।
महोत्तरीको बर्दिबास, विजलपुरा, धनुषाको कुर्था रेल्वे स्टेसनको स्थलगत अनुगमनपछि जनकपुरधामस्थित रेलवे स्टेसनमा आयोजित पत्रकार सम्मेलनमा यातायातमन्त्री दाहालले रेल्वे वासिङ्ग सेन्टरको निर्माण गर्ने काम अन्तिम चरणमा पुगेकाले भारत पठाउनुपर्ने वाध्यता अन्त्य भएपछि खर्चमा बचत हुने बताउनु भयो । यात्रुबाहक रेलसँगै कार्गो रेल सञ्चालनमा आएपछि रेल्वेको घाटा पूरै कम हुने उल्लेख गर्दै मन्त्री दाहालले मालवाहक रेल सञ्चालनका लागि नेपाल सरकारले गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले जनकपुर – जयनगर – बर्दिबास रेल सेवालाई पूर्व पश्चिम रेलमार्ग सँगै जोडेर देशभरिमा रेल सेवा विस्तार गर्ने गरी काम भइरहेको समेत जनाकारी दिनुभयो ।
उहाँले भारतको अयोध्या – जनकपुर रेल सेवा सञ्चालन गर्ने भारत सरकारको घोषित कार्यक्रम भएकाले यसबाट दुई देशको सांस्कृतिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।