अप्पन जनकपुर
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले लगातारको बर्खा र बाढीका कारण प्रदेशका विभिन्न नदीको जलस्तरमा अत्यधिक वृद्धि भइरहेकाले तटीय क्षेत्रमा आवश्यक विपत् प्रतिकार्य गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री सिँहले शनिबार पूर्वपश्चिम राजमार्गस्थित बागमतीलगायत विभिन्न नदीको अवलोकनपछि नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख एवम् नायब महानिरीक्षक लालमणि आचार्य र सशस्त्र प्रहरीबलको नम्बर २ छिन्नमस्ताबाहिनी मुख्यालयका प्रमुख एवम् नायब महानिरीक्षक कालीदास धवोजीसँग फोन सम्पर्क गरी जोखिममा रहेका तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न र मानवीय तथा भौतिक क्षति हुन नदिन लगायतका सबै खालका उद्धारजन्य कार्यका जुट्न निर्देशन दिएका हुन् ।
प्रदेशमा कार्यरत दुवै अधिकारीले सप्तकोसी र बागमती नदीबाहेक अन्य नदीको जलस्तर खतराचिह्नभन्दा माथि पुगि नसकेको मुख्यमन्त्रीलाई जानकारी गराएका छन् । उनीहरूले तटबन्धलगायतका संरचनाको आकस्मिक संरक्षण गरी गाउँबस्तीमा जलप्रवाह रोक्न, डुबान क्षेत्रबाट सुरक्षित स्थानमा जोखिममा रहेकालाई स्थानान्तरण गर्न र अन्य संकटबाट पार पाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी विभिन्न ठाउँमा परिचालन भइरहेको बताए ।
सप्तकोसी र वागमतीको बहाव खतराचिह्नभन्दा माथि पुगिसकेको र अन्य नदीमा समेत जलस्तर बढिरहेकाले उच्च सतर्कता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई समेत आग्रह गरेका छन् । उनले विपद् व्यवस्थापन कार्यका लागि जिम्मेवार जनप्रतिनिधि र सरकारी अधिकारी तथा स्वयंसेवी संस्थाहरूसमेतलाई बाढीपानीबाट उत्पन्न हुने विपत् सामना गर्न तयार अवस्थामा रहन आह्वान गरेका छन् ।
शनिबार बागमती नगरपालिकाको कर्मेयास्थित बागमती पुलमा पुगेका मुख्यमन्त्री सिँहले ५ हजार ५ सय क्युसेक पानीको बहाब पुगेको र त्यो स्थिति खतराचिह्नभन्दा ५ सयले बढी भएको भन्दै कुलेखानी जलविद्युत् केन्द्रको बाँधका ढोका खोलिँदै गइरहेकाले जलस्तरमा थप वृद्धि हुने हुँदा नदी किनारका रौतहट र सर्लाही जिल्लाका सरोकारवालालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । बागमती बराजको सबै ३६ वटा ढोका खोलिएका छन् ।
उनले सप्तकोसीमा तीन लाखभन्दा बढी क्युसेक पानीको बहाब खतरापूर्ण मानिने भएकोमा ४ लाख ८० हजार ४ सय ९५ क्युसेक पानीको बहाव भइरहेको र जलस्तर अझै बढ्ने अनुमान गरिएकाले त्यस क्षेत्रमा समेत उच्च सतर्कता अपनाउनुपर्ने अवस्था रहेको बताए ।
प्रदेशको कमला नदीमा जलप्रवाह ११ हजार ५० क्यसेक छ ।
प्रदेशमा अहिलेसम्म कुनै ठाउँमा मानवीय तथा भौतिक क्षति भएको छैन । चट्याङ परेर रौतहटमा एउटा गाईको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
बाराको जितपुर सिमरा नगरपालिका वडा नम्बर १२ स्थित लालबकैया नदीको तटबन्ध भत्किन लागेको खबर प्राप्त भएपछि नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकसहितको टोली त्यस ठाउँमा पुगी बाँध मर्मतको कार्य गराइरहेको छ ।