जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा आगामी मंसिर १६ गतेदेखि सुरु हुने श्री सीताराम विवाह पञ्चमी महामहोत्सवलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले लाखौं तीर्थयात्रीको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीले जिम्मेवारी निर्वाह गर्ने जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार चोरी, डकैती र पाकेटमार जस्ता अपराध रोक्न तालिम प्राप्त सादा पोशाकका प्रहरी परिचालन गरिनेछ। धनुषाका सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरीले सिमानाबाट मेलासम्मको क्षेत्रमा भारतीय सीमा सुरक्षा बलसँग समन्वय गर्दै ७०५ सशस्त्र प्रहरी तैनाथ गरिने र अत्यधिक भीड हुने स्थानमा ड्रोनको सहायताले निगरानी गरिने जानकारी दिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले मेलामा आउने सवारीसाधन र भीड व्यवस्थापनका लागि १४० ट्राफिक प्रहरी परिचालन गर्ने र विशेष पार्किङस्थलको व्यवस्था गरिने जनाएको छ । भिभिआइपीका लागि छुट्टै मार्गको तयारी समेत भइरहेको ट्राफिक प्रमुख प्रहरी निरीक्षक हरिबहादुर वलीले बताए ।
जनकपुरधाम उपमहानगरपालिकाले बाह्र बिघा रङ्गभूमि मैदानमा १०० अस्थायी शौचालय निर्माण, हनुमानगढीमा शौचालय तथा ठाउँ–ठाउँमा चापाकलको व्यवस्थापन गरिरहेको छ । नगरप्रमुख मनोज साहका अनुसार नगर क्षेत्रमा व्यापक सरसफाइ समेत गरिएको छ ।
प्रादेशिक अस्पतालले २४सै घण्टा चिकित्सक तयारी अवस्थामा राख्नुका साथै ७५ शय्या र आवश्यक औषधिको व्यवस्था मिलाएको अस्पताल निर्देशक डा. जामुन प्रसाद सिंहले जानकारी दिए । नेपाल रेडक्रसले १०१ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै दुर्घटनामा परेकालाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको छ ।
खानेपानी संस्थानले ठाउँ–ठाउँमा धाराको जडान गरेको छ भने विद्युत् प्राधिकरणले महोत्सव अवधिभर विद्युत् अवरोध हुन नदिन तयारी गरेको छ । नेपाल टेलिकमले मोबाइल नेटवर्क सुधार्न थप टावर र ओबी भ्यानको व्यवस्था गरेको छ । सडक डिभिजन कार्यालयले खाल्डाखुल्डी पुर्ने काम अन्तिम चरणमा पुर्याएको छ ।
यसपटक भारतको अयोध्याबाट पाँच सयको संख्यामा जन्ती आउने तयारी गरिएको छ । श्रीराम जन्मभूमि ट्रस्टका केन्द्रीय मन्त्री राजेन्द्र सिंह पङ्कजको नेतृत्वमा जन्ती अयोध्या हुँदै विभिन्न स्थान पार गरेर जनकपुरधाम पुग्ने महन्त रामतपेश्वर दास वैष्णवले जानकारी दिए ।
मंसिर १६ गते नगर दर्शनबाट सुरु हुने विवाह पञ्चमी महामहोत्सव २२ गते रामकलेवासको साथ सम्पन्न हुनेछ । महोत्सवलाई सफल बनाउन प्रशासन, सुरक्षा निकाय, स्थानीय निकाय र विभिन्न संस्थाहरूले समन्वय गरी तयारी गरिरहेका छन् ।