जनकपुरधाम । धनुषाको विदेह नगरपालिकामा रहेको समुदायिक तथा नीजि भवनहरुको नक्सा पासको नियम लागू गरिएको छ।
नगरपालिकाभित्र बनेको संचरनाहरुको तीन महिनाभित्रै नक्सा पास गराउनुपर्ने नियम लागु गरिएको नगरप्रमुख बेचन दासले जानकारी दिए। उनका अनुसार, नगरभित्र बनेको समुदायिक वा नीजि घरहरुहरुलाई नियमन गर्नको लागि नक्सा पास गराउनुपर्ने प्रावधान लागू गरिएको हो।
नगरभित्र बलियो संरचना, कित्ताकाटको प्रावधान लागू गर्न नक्सा पासको कार्यविधि लागू गरिएको बताए।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा १२ मा प्रत्येक वडा समितिले निजी घर तथा घर परिवारको लगत राख्नुपर्ने प्रावधान छ। स्थानीय तह सरकार सञ्चालन ऐनको परिच्छेद ७ मा रहेको दफा ३४ अनुसार घर बनाउँदा अनिवार्य रुपमा नक्सा पास गर्नुपर्ने हुन्छ भने दफा ३५ अनुसार नक्सा संशोधन गर्न वा घरको मोहोडा परिवर्तन गर्न नगरपालिकाले तोकेको थप रकम तिर्नपर्छ।
विदेह नगरपालिकाको वडा नम्बर १ देखि ९ सम्मको वडाभित्र बनेको घरहरुको अभिलेखिकरण, राजश्व असुलीको लागि नक्सा पास अनिवार्य गरिएको हो। नक्सा पास गराउनको लागि नगरपालिकाले एक मापदण्ड समेत तयार पारेको हो। सोही मापदण्ड अनुसार बनिसकेको घरलाई पनि अभिलेखिकरण गर्ने योजना रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र कुमार साहले बताए।
अधिकृत साहका अनुसार, नगर प्रमुख दासको निर्देशनमा सर्वसहमतिबाट नक्सा पासको मापदण्ड लागू हुनेछ। निर्माण भईसकेका घरहरुको माघ १० गतेदेखि तीन महिनाभित्रमा नक्सा पास अनिवार्य हुनेछ। नक्सा पास पछि गराए दोब्बर वा तेब्बर राजश्व तिर्नुपर्ने मापदण्डमा उल्लेख छ।