अप्पन जनकपुर
जनकपुरधाम । धनुषामा आफूलाई नेपाल प्रहरीका डीएसपी भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाका ३० वर्षीय दिपक भनिने धनिकलाल साह रहेका छन् ।
उनलाई नक्कली नेपाल प्रहरीको डीएसपी बनेर ठगी गरेको आरोपमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ बाट पक्राउ गरिएको छ । धनुषाको इलाका प्रहरी कार्यालय ढल्केबरको टोलीले साहलाई पक्राउ गरेको हो ।
प्रहरी ईन्सपेक्टर जटशंकर यादवका अनुसार साहले आफूलाई डीएसपी भन्दै रमेश श्रेष्ठ नाम गरेका स्थानीय व्यक्तिसँग ५० हजार रुपैयाँ ठगी गरेको उजुरीपछि उनलाई नियन्त्रणमा लिइएको हो । रमेश श्रेष्ठले साहविरुद्ध ठगीको आरोपमा ईलाका प्रहरी कार्यालय ढल्केबरमा जाहेरी दिएका थिए ।
पक्राउ परेका साहले डीएसपीको झूटो पहिचान प्रयोग गरी स्थानीयहरूलाई ठगी गरेको आशंका गरिएको छ । उनले उच्च पदस्थ प्रहरी अधिकारी बनेर विभिन्न व्यक्तिहरूलाई ठगी गर्ने र आर्थिक फाइदा उठाउने प्रयास गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
प्रहरीले साहलाई ठगी कसुरमा धनुषा जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान जारी राखेको जानकारी दिएको छ । ठगीका अन्य घटनाहरूमा पनि साहको संलग्नताको खोजी भइरहेको र ठगीबाट प्रभावित अन्य व्यक्तिहरूको पहिचान गरिरहेको प्रहरीले बताएको छ ।
प्रहरीले सर्वसाधारणहरूलाई यस्ता नक्कली व्यक्तिहरूबाट सतर्क रहन आग्रह गर्दै ठगीका घटनाहरू भएमा तुरुन्तै नजिकको प्रहरी कार्यालयमा सूचना दिन अपिल गरेको छ ।