अप्पन जनकपुर
जनकपुरधाम । जनकपुर साहित्य महोत्सवको छैटौँ संस्करण माघ २४ गतेदेखि शुरू हुने भएको छ । नवमिथिला फाउन्डेसनको आयोजना र फ्याक्ट्स नेपालको प्रायोजनमा हुन लागेको जनकपुर साहित्य महोत्सव माघ २६ गतेसम्म राम मन्दिर पार्कमा आयोजन हुन लागेको हो ।
जनकपुरधाममा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवमा हुने सत्रहरूबारे जानकारी गराइएको हो । महोत्सवको उद्घाटन माघ २४ गते दिउँसो दुई बजेदेखि राम मन्दिरको पार्कमा हुने आयोजक संस्थाका अध्यक्ष अमित साहले बताए ।
उनका अनुसार तीन दिवसीय महोत्सवमा साहित्य, शिक्षा, पर्यटन, नीति निर्माण, अर्थतन्त्र, सुशासन, राजनीति, भूराजनीति, खेलकुद, सम्पदा, संस्कारजस्ता १७ वटा ‘ओपन–एयर प्यानल’ छलफल हुने छ ।
जसमा ‘जनकपुरधामक चुनौती आ अवसर सब’, ‘डिजिटल युगमा पठन संस्कृति’, ‘क्रिकेट: समस्या, समाधान र सम्भावना’, ‘मधेश महिमा: उत्सवको व्यवसायीकरण’, ‘पढाइ, सिकाइ र वैज्ञानिक सोच’ विषयमा विमर्श हुने अध्यक्ष साहले बताए ।
तेस्रो दिन माघ २६ गते ‘नेपालको परराष्ट्र नीति र सीमाञ्चल’, ‘संघको दृष्टिमा मधेश’, ‘आन्दोलन र साहित्य’, ‘नेपाली उद्यमीको यात्रा’, ‘आनन्दको खोजी’, ‘समाज, साहित्य र सिनेमा’, ‘मधेशको मत’, ‘उज्यालोको यात्रा’ र ‘संविधान, संघीयता र कानूनी राज्यको अभ्यास’ जस्ता शीर्षकमा समेत बृहत् छलफल हुने अध्यक्ष साहको भनाइ छ ।