जनकपुरधाम । क्याम्पस पढ्न घरबाट बसमा जनकपुरधाम हिँडेका छात्र १९ वर्षीय राजन यादव दुई दिनदेखि सम्पर्कविहीन भएका छन् ।
धनुषाको नगराइन नगरपालिका २ का राजन यादव जनकपुरधामस्थित राषर्जी जनक क्याम्पसको कक्षा ११ मा अध्ययनरत छन् । बिहीबार बिहान करिब साढे ५ बजे घरबाट उनी क्याम्पसका लागि निस्केका थिए । तर साँझसम्म नफर्केपछि उनका आफन्तहरुले खोजतलास गर्दा पनि फेला परेका छैनन् ।
घरबाट क्याम्पसकै बसमा निस्केको र साँझ घर नफर्केपछि खोजबिन गर्दा पनि अहिलेसम्म नभेटेको छात्र यादवका भिनाजु अनिल कुमार यादवले बताए । उनले भने, क्याम्पसकै बस चढेर गए । तर क्याम्पस समेत नपुगेको जानकारी पाएको छु ।
बसबाट क्याम्पस अगाडी ओर्लिएको कुरा उनका साथीहरूबाट थाहा पाएको अनिलले सुनाए । उनले फोनमा भने, बसबाट ओर्लिएपछि साथीहरूलाई अंकललाई भेटेर आउँछु भनेर निस्केको कुरा जानकारीमा आएको छ । जनकपुरधाममा नगराइनकै अंकल पर्ने एक जना छन् । तर उनी कहाँ पनि गएका छैनन् ।
क्याम्पस क्षेत्र, साथीभाइ र आफन्तहरूसहित धेरै ठाउँमा खोजिसक्दा पनि नभेटेपछि छात्र यादवको परिवार चिन्तामा डुबेका छन् । कतै नभेटेपछि जिल्ला प्रहरी कार्यालयमा पनि जानकारी गराएको उनका भिनाजु यादवले बताए ।
धनुषाका प्रहरी प्रवक्ता वरुण बहादुर सिंहले छात्र यादव सम्पर्कविहीन भएको कुरा थाहा नभएको जानकारी दिए । उनले भने, हामीलाई थाहा भएन । उनको परिवारले जानकारी गराएको छैन । हामी कहाँ तुरुन्त पठाइदिनुस् ।