जनकपुरधाम । मधेश प्रदेशको आठ जिल्लामध्ये धनुषा र बारा जिल्लाको जिल्ला प्रशासन कार्यालय कार्यसम्पादनमा उत्कृष्ट ठहरिएको छ ।
आर्थिक वर्ष ०८१÷८२ को दोश्रो त्रैमासिक कार्यसम्पादन सम्झौता मूल्यांकन प्रणालीमा धनुषा र बारा जिल्लाले ४६ औँ स्थान प्राप्त गरेको गृह मन्त्रालयले प्रकाशित गरेको नतिजामा उल्लेख छ । यसअघि धनुषा जिल्ला प्रशासन कार्यालय पुछारको अन्तिम ७७ औँ स्थानमा थिए । तर यो पटक भने ३१ औँ स्थान सुधार गर्दै ४६ औँ स्थानमा छलाङ्ग मार्न सफल भएको छ ।
कार्यसम्पादन मूल्यांकन नतिजामा धनुषा र बारा जिल्ला प्रशासन कार्यालयले बराबर ४६ औँ स्थान हासिल गरेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
कार्यसम्पादन मूल्यांकन अनुसार मुलुकको ७७ वटा जिल्ला प्रशासन कार्यालयहरु मध्ये मधेश प्रदेशका रौतहट ६१ औं स्थान, पर्सा ६३ औं र सिरहा जिल्लाले ६८ औं स्थान प्राप्त गरेको छ ।
महोत्तरी र सप्तरी जिल्लाले ६९ औं स्थान तथा सर्लाही जिल्लाले ७४ औं स्थान प्राप्त गरेको जनाइएको छ ।
यसरी हेर्दा समग्र मधेश प्रदेशमा धनषा र बारा जिल्ला प्रशासन कार्यालयहरुको कार्यसम्पादन सबैभन्दा उत्कृष्ट रहेको देखिएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाका कर्मचारीहरुको मेहनत तथा टिमवर्कले यो सफलता प्राप्त गरि उत्कृष्ट स्थान हासिल गर्न सफल भएको धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले बताए ।