अप्पन जनकपुर
रुपन्देही । केही समययता अन्तर्राष्ट्रिय उडान सुरु हुन थालेका रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सेटिङमा सुन तस्करी हुन थालेको छ । क्यानका कर्मचारी, सुरक्षाकर्मी र ल्याउने मान्छेको सेटिङमा तस्करी सुरु भएको हो । यसरी ल्याइने सुन यहाँको भन्सार कार्यालयबाट नभई अन्यत्रबाट बाहिर निकाल्न थालिएको प्रमाण भेटिएका छन् ।
यसअघि यहाँको प्रहरी, सरसफाईमा काम गर्ने क्यानको कर्मचारी र ल्याउने मान्छेको सेटिङमा सुन आएको थियो मंगलबार पनि त्यसैगरी सुन ल्याइएको भेटिएको छ ।
बाहिरबाट आउने जजिरा र फ्लाई दुवईबाट यसरी विचौलियाले यहाँ सेटिङमा काम गर्न थालेको बुझाई यहाँको कर्मचारीको छ ।
उनीहरु विमानबाट उत्रिएपछि भन्सारतिर नगई सिधै शौचालय तर्फ जाने र त्यहाँको सरसफाईमा काम गर्ने कर्मचारी तथा प्रहरीमार्फत बाहिर निकाल्ने गरेका छन् ।
यसअघि यसैगरी बाहिर निकालेको सुन पक्राउ परेर अनुसन्धानमा यहाँ रहेको क्यानको कर्मचारी, प्रहरी तथा ल्याउने मान्छे नै संलग्न भएपछि उनहरुविरुद्ध मुद्दा चलिरहेको छ ।
मंगलबार पनि यसैगरी जहाज आएपछि आएको महिला यात्रुले शौचालयमा छाडेको र सरसफाईमा रहेको सेटिङको कर्मचारी नगएर अर्को कर्मचारी सरसफाईमा गएको बेला भेटाएपछि यो विषय बाहिर आएको हो ।
भन्सार अधिकृत पवित्रा ज्ञवाली विचौलिया, यहाँको केही कर्मचारी र प्रहरीको सेटिङमै यस्तो गर्न खोजिएको तर त्यो संभव नहुने बताइन् ।
‘भन्सारमा त कडाई छ, त्यता नगई यताबाटै बाहिर ल्याउने केही सेटिङ हुनसक्छ’, यसअघि पनि क्यानकै कर्मचारी, प्रहरी र विचौलिया मिलेर गरेकाले उनीहरु मुद्दामै छन्, हिजोको पनि त्यही हुनसक्छ’, उनले भनिन् ।
‘मंगलबार दिउसो साढे १ को जजिरामा आएको महिला यात्रुले शौचालयमा छाडेको जस्तो छ, त्यसपछि फ्लाई दुबईको जहाज नआउँदै शौचालय सरसफाई गर्न गएकी स्वीपर रीता थापाले देखेपछि दौडिँदै आएर आफ्नो सुपरभाइजरलाई भनिन्, सुपरभाइजरले क्यानको भीमदेव भट्टलाई भनेपछि उहाँले त्यसलाई नचलाई तत्काल सुरक्षाकर्मीलाई बोलाएर जफत गरिएको रहेछ’, घटनाको विवरण सुनाउँदै उनले भनिन्, ‘हामीले त मुद्दा दर्ता भएपछि मात्रै थाहा पायौं ।’
मंगलबार अध्यागमनको शौचालयमा १ सय २५ ग्रामका २ वटा सिक्री फेला परेका हुन् । ज्ञवालीका अनुसार यो पूर्वसल्लाह गरेका कर्मचारी फेरिएकाले अलपत्र परेको हुनसक्छ । अध्यागमनको महिला शौचालयमा छाडेर गएको अवस्थामा २ वटा सिक्री १ सय २५ ग्रामका फेलापरेको ज्ञवालीले बताइन् ।
जजिरा विमानस्थल आएपछिको समय दिउँसो १ः३० बजेको समयमा फ्लाइ दुबईको जहाज आउनुभन्दा अघिको समयमा भेटिएको उनको भनाइ छ । यस बारेमा थप अनुसन्धान भएको बताउँदै ज्ञवालीले राष्ट्र बैङ्कमा लगेर जफत हुने र उक्त रकम राजस्वको रूपमा जम्मा गरिने ज्ञवालीले बताइन् ।
विमानस्थलमा रहेको सिसिटिभीबाट कालो ज्याकेट लगाएको महिला झरेर शौचालय गएको र फर्केको देखिएपनि उनको बारे केही खुलेको छैन । ज्ञवालीका अनुसार अब यसको हकदावी गर्न आउने संभावना निकै कम रहेको छ ।
सर्वसाधारणका लागि पटक पटक चेकजाँच हुने विमानस्थलमा सेटिङमा आउनेको चेकचाँज नभएकाले यसरी दुवई कतारबाट अवैध तरिकाले सुन भित्रिरहेको व्यवसायीहरुको भनाइ छ ।
‘यसका विचौलियाहरुले यो नयाँ क्षेत्रलाई टार्गेट बनाएर काम गरेका हुनसक्छन्, नभए सबै यात्रु विमानबाट झरेर सिधै बाहिर आउन संभव हुँदैन, दुबई कतारबाट सुन ल्याउन सहज हुने भएकाले यसो गरिएको हुनसक्छ’ एक व्यवसायीले भने ।