जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा एक वडा अध्यक्ष ९ दिनदेखि आन्दोलन गरिरहेका छन् ।
नगर कार्यपालिकाको हिसाब र नीति निर्माण प्रक्रिया पारदर्शिताको माग गर्दै अघिल्लो सोमबारदेखि आन्दोलनरत सबैला-११ का वडा अध्यक्ष सरोज यादव कार्यालय परिसरमा अनसन बसेका छन् ।
नगरपालिकाबाट हुने खर्चको हिसाब सार्वजनिक गर्न माग गरेका वडा अध्यक्ष यादवको योजना नै समावेश नगरी मेयर कारी यादवले बजेट ल्याए । नगरपालिकाको आय र व्यय पारदर्शी गर्न आवाज उठाइरहेका वडा अध्यक्ष यादवले आफ्नो वडा विकासका लागि न्यायोचित बजेट माग गर्न थाले ।
केही दिन अघि शिक्षक दरबन्दी मिलानको नाउँमा ७ कक्षासम्म अध्यापन हुने ११ नम्बर वडा कार्यालयमा सञ्चालित विद्यालयमा मात्र तीन जना शिक्षक छाडेर बाँकीलाई अन्यत्रै सरुवा गरिदिए । उक्त वडा कार्यालयमा कम्प्यूटर अपरेटर पनि पठाइदिएनन् ।
जनताबाट निर्वाचित वडा अध्यक्षले कानुन र न्यायको वकालत गर्दा मेयरको घेराबन्दीमा परेपछि तत्काल वडा कार्यालयमा कम्प्यूटर अपरेटर र विद्यालयमा शिक्षक माग गर्दै अघिल्लो सोमबारदेखि नगरपालिका कार्यालय परिसरमा अनसन बसे ।
चारदिनसम्म अनसनमा बसिरहँदा पनि कार्यपालिका नेतृत्वबाट समस्या सम्बोधनको प्रयास नभएपछि उनले ट्याक्टरमा हर्न बजाउँदै विभिन्न वडाहरुमा पुगेर आफ्नो आन्दोलनको प्रचार गर्न थाले । विद्यालयहरुको अनुगमन गर्न थाले ।
वडा अध्यक्ष यादवको विद्यालय अनुगमन शैलीबाट प्रधानाध्यापक तथा शिक्षकहरु तनावमा आए । गुणस्तरीय शिक्षाबाट बञ्चित बालबालिकाहरुको सिकाई उपलब्धीवारे सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न थालेपछि वडा अध्यक्ष यादवउपर शिक्षकहरु पनि दबाव बनाउन थाले । मेयरलाई उनीविरुद्ध एक्शन लिन सहज भयो । र, प्रमुख जिल्ला अधिकारीको सहयोग लिएर वडा अध्यक्ष यादवलाई प्रहरी नियन्त्रणमा लिइयो ।
सोमबार प्रहरीकै भ्यानमा जिल्ला प्रशासन कार्यालय पुर्याइएका वडा अध्यक्ष यादवलाई फागुन ९ गते मेयरसहितको सरोकारवालासँग छलफल गराउने शर्तमा नियन्त्रणमुक्त गरियो ।
मंगलबारदेखि वडा अध्यक्ष यादवले सबैला नगरपालिकाका विभिन्न वडाहरुमा सञ्चालित सामुदायिक विद्यालयहरुको अनुगमन गर्दै बालबालिकाहरुमा परेको सिकाई प्रभाववारे सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न थालेका छन् ।
डा अध्यक्ष यादवले संविधान र कानुनले दिएको अधिकार क्षेत्रभित्रै रहेर नगरपालिकाको आय र व्यय सार्वजनिक गर्न माग राख्दा अटेर गरेका नगर प्रमुख र उनका आसेपासेलाई यतिबेला घाँडो भएको देखिन्छ ।
कमिशन बिना विकास बजेट खर्च नगर्ने र शिक्षा तथा स्वास्थ्य जस्तो अति संवेदनशिल क्षेत्रमा पनि आर्थिक चलखेल जस्तो घृनित कार्य भइरहेको नगरपालिकामा वडा अध्यक्ष यादवले उठाएको मुद्दा नजायज हो भने किन रोक्न सकिएन?? जायज हो भने सम्बोधन किन नगरेको?? प्रश्न तेर्सिएको छ ।