रौतहट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसवादी दलहरू अवसरवादको दलदलमा फस्न नहुने धारणा राखेका छन् ।
आज पार्टीको तराई–मधेस जागरण अभियानअन्तर्गत रौतहटको लौकाहामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले मधेस केन्द्रित दलहरू अवसरवादतर्फ लागेकाले मधेसी जनताको विश्वास कम हुँदै गएको विचार व्यक्त गरे । उनले राजनीतिक दलले जनताप्रतिको जिम्मेवारी बिर्संन नहुने बताए ।
मधेसी जनताको समस्या बुझ्नका लागि हुलाकी मार्गको प्रयोग गरेको उनले बताए । यात्राका क्रममा मधेसी जनताको कतै सिँचाइको समस्या, कतै बाटाघाटाको समस्या, शिक्षा तथा विभिन्न विकासमा समस्या देखेको जनाउँदै ती समस्याको समाधान गर्न माओवादी दृढ भएर लागिपर्ने उनले बताए ।