विपिन यादव
जनकपुरधाम । रङ्गहरुको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन धनुषामा ४० भन्दा बढी ट्राफिक प्रहरी खटाई ट्राफिक व्यवस्थापन कडा गरिने भएको छ । धनुषा ट्राफिक प्रहरीले यसबारे जानकारी दिएको हो ।
होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटना रहित होली पर्व बनाउनका लागि धनुषाले ट्राफिक व्यवस्थापनको योजना तयार गरि आफ्नो जनशक्ति परिचालन गर्ने जनाएको छ ।
होलीको पूर्व सन्ध्यामा होली पर्वलाई सभ्य र सुरक्षित तरिकाले सम्पन्न गराउन जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी ईन्सपेकटर हरि बहादुर वलीले सबै ट्राफिक इकाई तथा युनिट ईन्चार्जहरूलाई ट्राफिक व्यवस्थापन कडा बनाउन निर्देशन दिनुका साथै खटिने प्रहरी कर्मचारीहरूलाई व्रिफिङ्ग समेत गरेका छन् ।
फागु पूर्णिमाको अवसरमा हुने सवारी व्यवस्थापनको विभिन्न चुनौतिहरू तथा खतराहरूलाई यथार्थपरक विश्लेषण र मूल्याङ्कन गरेर प्रविधि उपकरणहरुको समुचित उपयोग गर्ने गरी विशिष्टिकृत ट्राफिक प्रहरी परिचालन गर्न लागेका छौँ । ईन्सपेकटर वोलीले भने, बिहानैदेखि प्रहरी ईन्सपेकटरको नेतृत्वमा ५ वटा अनुगमन टोली र मोबाइल टोली, सवारी साधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिने छ ।
उच्छृङ्खल तथा अवाञ्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तिब्र गति र जिकज्याक गरि मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरि मोटरसाईकल हुईक्याउने, मोटरसाईकलमा हेल्मेट नलगाउने, मोटरसाईकलमा तीनजना भन्दा बढी सवार गरी चलाउने, सवारी साधनको प्रयोग गरी महिलाहरूलाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्ने, ठुलो आवाज निकाल्ने र मोडिफाई गरी सवारी चलाउने, सवारी चालक अनुमति पत्र नभएकाहरुले सवारी साधन चलाउने, ट्राफिक नियम विपरीत सवारी चलाउने माथि विशेष निगरानी गर्ने गरी धनुषा ट्राफिक प्रहरीले सुरक्षा योजना तयार गरेको जनाइएको छ ।
धनुषा ट्राफिक प्रहरीले होली पर्वलाई दुर्घटनारहित बनाउन धनुषाका विभिन्न नाकासहित १५ स्थानमा विशेष चेकजाँचको व्यवस्था मिलाएको छ भने बिहानैदेखि मापसे परीक्षण कडाईका साथ शुरु गर्ने भएको छ ।