जनकपुरधाम । जनकपुरको नदीमा एक युवकको लास फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १८ भोइलस्थित हुलाकी मार्गमा पर्ने कलभर्टमुनी लास फेला परेको हो ।
भोइल चोकदेखि लगत्तै पूर्व रहेको हुलाकी मार्गको कलभर्टमुनी युवकको लास देखेपछि स्थानीयहरुले प्रहरीलाई खवर गरेको थियो । भोइल गाउँको पूर्व रहेको मोड बाटोस्थितको कलभर्टमुनी सडेगलेको अवस्थामा लास देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार लासको प्रकृति हेर्दा अन्दाजी ४० वर्षीय पुरुष रहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुण बहादुर सिंहले जानकारी दिए । उनका अनुसार घटनास्थलबाट केही शंकास्पद सामानहरू पनि बरामद भएको छ ।
शवको प्रकृति हेर्दा कसैले हत्या गरेर फालेको हुन सक्ने आशंका प्रहरीको छ ।
घटनास्थलबाट मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी सिंहले बताए ।