काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले लगातार तेस्रो जित निकालेको छ । आइतबार भएको खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै गुजरातले जितको लयलाई निरन्तरता दिएको हो ।
हैदराबादलाई लगातार चौथो हार थमाउने क्रममा गुजरातले १५३ रनको लक्ष्य १६.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । कप्तान शुभमन गिलले अविजित ६१ रनको पारी खेले भने वासिङटन सुन्दरले ४९ तथा शेरफन रदरफोर्डले अविजित ३५ रन बनाए ।
हैदराबादका लागि मोहम्मद शामीले २ तथा कप्तान प्याट कमिन्सले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनाएको थियो । नितिश रेड्डीले सर्वाधिक ३१ तथा हेनरिच क्लासेनले २७ रन बनाए । कप्तान कमिन्स २२ रनमा अविजित रहे ।
गुजरातका मोहम्मद सिराजले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिए । प्रसिद्ध कृष्णा र साइ किशोरले २-२ विकेट लिए ।
यस जितसँगै ४ खेलमा ६ अंक जोडेको गुजरात अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ भने ५ खेलमा २ अंक मात्र जोडेको हैदराबाद १०औं स्थानमा यथावत् छ ।