काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित निकालेको छ । बिहीबार भएको खेलमा मुम्बईले सनराइजर्स हैदराबादलाई ४ विकेटले हराएको हो ।
हैदराबादले दिएको १६३ रनको लक्ष्य मुम्बईले १८.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । मुम्बईका लागि विल ज्याक्सले सर्वाधिक ३६ रन बनाए । रायन रिकल्टनले ३१, रोहित शर्मा र सुर्यकुमार यादवले समान २६ तथा हार्दिक पान्ड्या र तिलक वर्माले समान २१ रन बनाए ।
हैदराबादका कप्तान प्याट कमिन्सले ४ ओभरमा २६ रन दिएर ३ विकेट लिए । इशान मलिङ्गाले २ तथा राहुल चहरले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको थियो । अभिषेक शर्माले सर्वाधिक ४० रन बनाए भने हेनरिच क्लासेनले ३७ रन बनाए । ट्राभिस हेडले २८ रनको योगदान दिए ।
मुम्बईका विल ज्याक्सले ३ ओभरमा १४ रन दिएर २ विकेट लिए । ट्रेन्ट बोल्ट, हार्दिक पान्ड्या र जसप्रित बुमराहले १-१ विकेट लिए ।
यस जितपछि मुम्बईको ७ खेलमा ६ अंक भएको छ र अंकतालिकामा सातौं स्थानमा छ भने ७ खेलमा ४ अंक मात्र भएको हैदराबाद नवौं स्थानमा छ ।