जनकपुरधाम, साउन २८ गते । श्रीमानसँग छुटिएर माइतीमा बस्दै आएकी महिलाको हत्या गर्ने दुई व्यक्ति दुई महिनापछि पक्राउ परेका छन् ।
महोत्तरीको गौशाला नगरपालिका १० माइतीमा बस्दै आएकी ३० बर्षीय अन्जु श्रेष्ठको हत्या गर्ने गौशाला नगरपालिका ८ का ३६ बर्षीय राजकिशोर गिरी र सोहि नगरपालिका वडा नम्बर २ का ४१ बर्षीय दशै ठाकुर पक्राउ परेका हुन् ।
दुबैलाई जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गरी अनुसन्धान शुरु गरिएको महोत्तरी प्रहरीले जनाएको छ । ३० बर्षीया श्रेष्ठको ५ असारको राति हत्या भएको थियो । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
सिन्धुली निवासी श्रीमान् इश्वर श्रेष्ठले अर्को बिहे गरेपछि उनी दुई सन्तानसहित केहि बर्षदेखि माइतीमा बस्दै आएकी थिइन् । अन्जुको हत्या गर्ने क्रममा पक्राउ परेकाहरुले अन्जुको मोवाइल समेत लुटेर लगेका थिए ।
सोही मोबाइलको आइएमइ नम्बरको आधारमा दुबैलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ । पक्राउ परेकाहरुको साथबाट हत्यामा प्रयोग गरिएका मोबाइल तथा एक थान चक्कु समेत बरामद भएको प्रहरीले जनाएको छ ।