समाजिक समृद्धिका लागि नारीको सम्मान आवश्यक : प्रदेश सचेतक यादव
विपिन कुमार यादव अपन जनकपुर ,
जनकपुरधाम भदौ १२ गते । प्रदेश सभा सदस्य एवं प्रदेश सचेतक शैलेन्द्र कुमार यादवले जब सम्म हरेक घरमा नारीको सम्मान हुँदैन समाजमा समृद्धि आउन नसक्ने बताउनु भयो ।
मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत धनुषाको शहिदनगर नगरपालिका स्थित श्री एस.एन.आर.जनता माध्यमिक विद्यालय धबौलीमा आयोजित साईकल वितरण कार्यक्रमका प्रमुख अतिथि सचेतक यादवले जीवनको मुल आधार एवं समाजिक रुपान्तरणको लागि शिक्षा अपरिहार्य भएको बताउनु भयो । उनले समृद्धि सहितको समाजिक रुपान्तरणका लागि महिला सशक्तिकरण आवश्यक रहेको बताउनु भयो ।
जब सम्म छोरीहरुको शैक्षिक विकास हुँदैन समाजमा समृद्धि आउन नसक्ने मान्यताका साथ प्रदेश सरकारले छोरीहरुको पठन–पाठन प्रतिको जागरुकता बढाउन साईकल वितरणको अवधारणा लाएको सचेतक यादवले बताए ।
विद्यालयका प्र.अ.श्री प्रसाद गोहीवारको अध्यक्षतामा भएको साईकल वितरण कार्यक्रमका वक्ताहरुले म्ुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा बिमा, साईकल वितरण लगायतका कार्यक्रम अघि सारेकोले प्रदेश सरकार प्रति अभार व्यक्त गरे ।
कार्यक्रममा शहिदनगर नगरपालिका वडा नं. ७ धवौलीमा वडा अध्यक्ष मनोज साह, सदस्यद्धय राशेन्द्र प्रसाद यादव, ध्रुव शर्मा तथा महिला सदस्यद्धय दल्लो देवी, ठकनी देवी, राजेन्द्र मंडल लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
उक्त विद्यालयका कक्षा ८ मा अध्ययनरत ४३ जना छात्राहरुलाई साईकल वितरण गरिएको हो । साईकल पाएपछि छात्राहरु अत्यन्तै हर्षित देखिएका थिए ।