प्रमुख समाचार
अप्पन समाचार,१४ माघ जनकपुरधाम : प्रदेश २ की भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झाले राजीनामा दिएकी छन्। राजपाको तर्फबाट राज्यमन्त्री बनेकी झा संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई राजीनामा पत्र बुझाएकी हुन्।
‘प्रदेश सरकारमा राज्यमन्त्रीको हैसियत, पदीय मर्यादा, पदको प्रतिष्ठा जोगाउन लामो समयदेखिको मेरो प्रयासका बाबजुद स्थिति अनुकुल हुने अवस्था नरहेकाले राज्यमन्त्री पादबाट राजीनामा गरेको छु’, उनको राजीनामा पत्रमा उल्लेख छ।
रौतहटबाट प्रदेश सभा सदस्यमा निर्वाचित झा राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य अनिल झाकी श्रीमती हुन्। उनले प्रदेश सरकारको कार्यशैलीबाट असन्तुष्ट भएर राजीनामा दिएपछि समाजवादी पार्टी र राजपाबीचको सम्बन्ध बिग्रिने सम्भावना देखिएको छ।
राजीनामा दिएकी झाले प्रदेश सरकारले पाप गरिरहेको र पापको भागिदार नबन्न राजीनामा दिएको बताइन्। उनले अप्पन जनकपुरसँग भनिन्, ‘मेरो जिल्लामा ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रम मुख्यमन्त्रीको पिए नेतृत्वमा हुन्छ । तर हामीलाई खबर पनि गर्दैनन्।’
गत आर्थिक वर्षको बाँकी ८७ करोड भुक्तानी अझै उपभोक्ताले पाउन नसकेकोमा पनि उनले आक्रोस पोखिकी छन्। उनले सरकारकै कमिकजोरीका कारण उपभोक्ताहरु रकम पाउन नसकेको पनि बताइन्।