मुख्य समाचार
जोगिन्द्र बोले प्रणाम जी पनि बन्द गर्न पत्र
जनकपुरधाम, जेठ ७ : प्रदेश २ सरकारले कृषि टेलिभिजन नेपाल वाट प्रशारण भएको एक कार्यक्रममा मधेशी समुदायको खिल्ली उडाएको र मधेशीलाई अपमान गरेको भन्दै कार्यक्रममा संलग्नहरुलाई कारवाही गर्न मांग गरेको छ ।
सरकारका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले संघिय सरकारको सञ्चार तथा सुचना प्रविधी मन्त्रालयलाई एक पत्र लेख्दै सो टेलिभिजनको जेठ ६ गतेको कोरोना बिर्साउने गफगाफ कार्यक्रममा प्रस्तुत गरिएको भाषा र सांकेतिक भेषभुषाले मधेशी वर्गलाई ठेस पुरयाएको र जनतामा व्यापक विरोध तथा आक्रोस रहेकाले संविधानको धारा १७ को उपधारा २ तथा धारा १८ को उपधाराहरु २ र ३ बमोजिम कारवाही गर्न मांग गरेको छ । २०७४ को राज्य विरुद्वका कसुर अन्तर्गत दफा ४९ को ४ र दफा ६५ को १ को व्यवस्था बमोजिम यस्ता गतिविधीहरु बन्द हुनुपर्ने पत्रमा उल्लेख छ ।
साथै नेपालको विभिन्न टेलिभिजनहरुको कार्यक्रम जस्तै, कोरोना बिर्साउने गफगाफ, ह्वाट द फ्लप, जोगीन्दर बोले प्रणाम जी सहित नेपाली चलचित्रहरुमा केहि सिमित व्यक्ति र समुदायको मनोरञ्जन तथा हाँसोका लागि कुनै खास वर्ग मधेशी सहितकालाई भाषा, भेषभुषा शब्द अभिनय र संकेतका माध्यमले होच्याउने, अपमान गर्ने तल देखाउने जस्ता गलत कृयाकलापले कुनै विशेष समुदायमा आक्रोस पैदा गरि राष्ट्रिय एकता तथा समाजिक सदभाव खलबलाउन सक्ने भएकाले यस्ता विभेदकारी कार्यक्रम निर्माण र प्रशारणमा रोक लगाउन समेत मांग गरिएको छ । पत्र गृहमन्त्रालय, मानव अधिकार आयोग, मधेशी आयोग, चलचित्र बोर्ड सहितकालाई समेत बोर्धाथ गरिएको छ ।