मुख्य समाचार
बिरगंज : कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि आज बिहानदेखि वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला कोभिड -१९ संकट व्यवस्थापन समिति निषेधाज्ञा लगाउनुपर्ने निष्कर्षमा पुगेपछि प्रशासनले आज बिहान ५ बजेदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले जानकारी दिए । ‘ट्राभल हिस्ट्री’ नभएका मानिस पनि संक्रमित भएको तथा मृत्यु हुनेको संख्या बढ्न थालेपछि निषेधा लागू गरिएको उनले जानकारी दिए ।
निषेधाज्ञा जारी भएसँगै महानगरका ३२ वटै वडामा अत्यावश्यक सेवाबाहेकका सबै गतिविधि गर्न रोक लागेको छ । वीरगञ्जमा दुई दिनमा कोरोना संक्रमणले तीन जनाको मृत्यु भइसकेको मेयर सरावगीले जानकारी दिए । ५७ जना संक्रमित उपचारको क्रममा छन् ।
शुक्रबार वीरगञ्जको कोभिड अस्पतालमा मृत्यु भएकी बाराकी १७ वर्षीया किशोरीमा पनि कोरोना पुष्टि भएको छ । दुई दिन अघि वीरगञ्जमै एक पुरुष र एक महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति पाँच थुनुवासहित ३२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको थियो । संक्रमित बढेसँगै महानगरपालिकाले सबै व्यक्तिको कोरोना परीक्षण गर्न सरकारसँग माग गरेको छ ।