विपिन कुमार यादव, कार्तिक २ जनकपुरधाम । संघिय प्रहरी ऐन संग बाझिने गरी प्रदेश २को सरकारले प्रहरी भर्ना लिने तयारी थालेको छ । प्रदेश प्रहरी ऐन पारित भएको झण्डै डेढ वर्षपछि प्रदेश २ सरकारले प्रहरी भर्ना लिने तयारी शुरु गरेको हो ।
प्रदेश २का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश सरकारले प्रहरी भर्ना लिने प्रकृया चाँडै नै शुरु गर्ने बताए ।
प्रदेश २को आइतबार बसेको मन्त्री परिषद बैठकमा आफूले प्रहरी भर्ना सम्बन्धि ठाडो प्रस्ताव लगेको र छठ पछि प्रहरी भर्ना लिने प्रकृया शुरु हुने मन्त्री यादवले जानकारी दिएका छन् ।
मन्त्री यादवले भने ‘अहिले चाडपर्वको समय रहेकोले छठ पर्व सके लगत्तै प्रहरी भर्नाका लागि आवेदन आह्वान गर्ने छौँ ।’
उनका अनुसार प्रदेश सरकारले प्रहरी जवान, असई र इन्सपेक्टर पदका लागि आवेदन आह्वान गर्ने छ ।
उनले भने ‘मन्त्रालयको सैद्धान्तिक सहमतिपछि मन्त्री परिषद बैठकमा प्रहरी भर्नाका लागि ठाडो प्रस्ताव लगेको थिएँ, छठपछि प्रकृया शुरु हुन्छ ।’
आइतबार बसेको प्रदेश २को मन्त्री परिषद बैठकमा प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गर्ने सहमति भएको मन्त्री यादवले जानकारी दिए ।
यसका अतिरिक्त प्रदेश सरकारको कर्मचारीहरुको सरुवा तथा काज सम्बन्धि कार्यविधि २०७७ स्वीकृत गर्ने, प्रदेशको राजपत्र निर्देशिका २०७७को मस्यौदा स्वीकृत गर्ने निर्णय गरिएको हो ।
त्यस्तै प्रदेश विपत व्यवस्थापन सम्बन्धि प्रदेशको मस्यौदा निर्माणका लागि सैद्धान्तिक सहमति र दलित विकास समितिको उपाध्यक्ष पदको नियुक्ति गर्ने निर्णय गरिएको मन्त्री यादवले जानकारी दिए ।