स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) ३ सय फेला,जनकपुर यातायातको सुरक्षामाथि शंका !

विपिन कुमार यादव,१३ कार्तिक । जनकपुरधाममा धान खेतमा फालिएको अवस्थामा स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स)हरु फेला परेको छ ।

यातायात ब्यवस्था विभागबाट तयार भएर आएका लाइसेन्स जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित यातायात कार्यालयदेखि झण्डै २ सय मिटर पश्चिमतर्फ रहेको खेतमा धान काट्न गएका महिलाहरूले फेला पारेका हुन् । उनीहरुले लाइसेन्सहरु संकलन गरेर यातायात कार्यालयलाई नै दिएका छन् ।

बिज्ञापन

धानखेतमा लाइसेन्स फेला परेको स्थान देखाउँदै एक महिला
‘बुधबार दिउँसो धान काट्न आउँदा खेतमा जताततै लाइसेन्स देख्यौं,’ एक महिलाले भनिन्, ‘ती सबै लाइसेन्स संकलन गरेर यातायातका कर्मचारीलाई दिएका छौं ।’

यातायात कार्यालयमा राखिएको लाइसेन्स धान खेतमा फेला परेपछि कार्यालयको सुरक्षामाथि प्रश्न उठेको छ ।

यातायात कार्यालय जनकपुरधामका अधिकृत विरेन्द्र साहले लाइसेन्स धान खेतमा फेला परेको स्विकार गर्दै ३ सय थान जति लाइसेन्स भेटिएको जानकारी दिए ।

कसैले गलत नियत राखेर लाइसेन्स फालेको हुन सक्ने बताउँदै उनले यसबारे जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइएको बताए ।

यातायात कार्यालय जनकपुरधाममा दलाल र बिचौलियाको सहज पहुँच छ । दलाल र बिचौलियाहरु लाइसेन्ससहितका कागजात बोकेर आफूखुसी ओहोरदोहोर गर्दै आए पनि यातायात कार्यालयका कर्मचारीहरु मुकदर्शक बन्ने गरेको सेवाग्राही बताउँछन् ।