जनकपुरधाम : मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मारेको विरोधमा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)ले आज मशाल जुलुश निकाल्ने तयारी गरेको छ ।
प्रदेश सरकारलाई बदनाम गरेर संघीयता समाप्त पार्ने षड्यन्त्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लागेको भन्दै आन्दोलनको घोषणा जसपा मधेस प्रदेश समितिले गरेको हो । आज सांझ प्रदेश २ का आठै जिल्लाको सदरमुकाममा जसपाले अख्तियार विरुद्ध मशाल जुलुश निकाल्ने बताइएको छ ।
यस्तै भोली (असोज १७ गते आइतबार) आठै जिल्लाको सदरमुकाममा प्रदर्शन गर्ने घोषणा जसपाले गरेको छ । भ्रष्टाचारको आरोप लागेका मुख्यमन्त्री लालबाबु राउतलाई बचाउन आन्दोलनको घोषणा गरिएकोले जसपा नेताहरुको आलोचना हुन थालेको छ ।
बेटी बचाउ बेटी पढाउ अभियान अन्तर्गत खरिद गरिएको साइकलमा भ्रष्टाचार भएको उजुरी आधारमा अख्तियारको टोलीले बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको थियो ।