जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता एवं प्रतिनिधी सभा सदस्य उमाशंकर अरगरियाले जनता समाजवादी पार्टी (जसपा) भ्रष्टाचारीहरुको झुन्ड रहेको बताएका छन् ।
चाडपर्वलाई लक्षित गरी जनकपुरधाममा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता अरगरियाले उक्त कुरा बताएका हुन् । उनले भ्रष्टाचार भएकै कारण अख्तियारले मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा छापामारी गरेको बताए ।
साइकल खरीदमा अनियमितता गरेपछि अख्तियारले छापामारी गरेको भन्दै उनले साइकल चोरलाई बचाउन मसाल जुलुस निकालिएको बताए । अख्तियारले छापा मारेपछि मुख्यमन्त्रीलाई नैतिकताको आधारमा राजिनामा दिनुपर्नेमा नदिइएको उनले बताए ।
उपेन्द्र यादव १८ महिना सरकारमा रहँदा गर्न नसकेका काम आफूहरुले १८ दिनमा गरेर देखाइदिएको उनले बताए । ‘हामीले मधेश आन्दोलनका क्रममा लागेका २ सय भन्दा बढी मुद्दा फिर्ता गराएको, संविधान संशोधनको प्रकृया शुरु गरायौं’ उनले भने ।
पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहेका अरगरियाले दुई तिहाईको प्रदेश सरकारलाई अबिलम्ब प्रदेशको नामाकरण गर्नुपर्ने बताए ।