काठमाडौं : प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको राजीनामा माग गर्दै वडाअध्यक्षहरु काठमाडौं आइपुगेका छन् ।
उपमहानगरले फोहर व्यवस्थापन गर्न कुनै चासो नदेखाएको भन्दै वडाका जनप्रतिनिधिहरू मेयर साहको राजीनामा माग्दै काठमाडौं आएका हुन् ।
जनकपुरधाम उपमहानगरका वडा नम्बर ३ का अध्यक्ष दीपेन्द्र साह, ४ का सुदर्शन सिंह, ७ का जानकीराम साहलगायत २९ जना जनप्रतिनिधिको टोली काठमाडौं आएको हो ।
वडाका जनप्रतिनिधिहरुको टोलीले सामान्य प्रशासन मन्त्रालयमा ज्ञापन पत्र बुझाउने र उनीहरूले माइतीघरमा प्रदर्शन गर्ने तयारीसमेत गरेको जनाइएको छ ।
उपमहानगरले फोहर व्यवस्थापनको लागि अहिलेसम्म कुनै पहल नभएको भन्दै पटक–पटक मेयरलाई ध्यानकर्षण गराउँदै आएका छन् । यसअघि पनि वडाअध्यक्षहरुले मेयरको घरअगाडि नै फोहोर फालेर विरोध जनाएका थिए ।
लामो समयदेखि फोहोर नउठ्दा धार्मिक नगरी जनकपुरधाम कुरूप र दुर्गन्धित बनेको गुनासाहरु छन् ।