जनकपुरधाम । जनकपुर- जयनगर रेल सञ्चालनका लागि नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले गुपचुप बिना प्रक्रिया पुरा गरी कर्मचारी नियुक्त गरेपछि विरोध सुरु भएको छ ।
तत्कालिन महाप्रबन्धक गुरु भट्टराईले १५१ कर्मचारी ज्यालादारीमा नियुक्त गरेर तालिम समेत दिइसकेको थियो । तर ति कर्मचारीलाई वर्तमान महाप्रबन्धक झाले हटाएका थिए । अहिले आफैं बिना प्रक्रिया कर्मचारी नियुक्त गरेपछि हटाइएका कर्मचारीहरु विरोध गरेका छन् ।
स्रोतका अनुसार महाप्रबन्धक झाले कुनै प्रक्रिया पुरा नगरी विभिन्न पदमा ६० जना कर्मचारी नियुक्त गरेर आजबाट मतस्य तालिम केन्द्र जनकपुरमा तालिम दिन सुरु गरेका छन् । यो कुरा थाहा पाएपछि हटाइएका कर्मचारीहरु त्यहाँ पुगेर विरोध गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले महाप्रबन्धक झाको राजीनामा मागेका छन् ।
प्रदर्शनमा सहभागी इन्द्रजीत गोइतले आफूहरुलाई सूचना टाँसेर विगतमा हटाए तर अहिले महाप्रबन्धक झाले कुनै प्रक्रिया पुरा नगरी आफ्ना आसपासे र कार्यकर्तालाई कर्मचारी नियुक्त गरेपछि आन्दोलन गर्नुपरेको बताए । उनले बिना प्रक्रिया नियुक्त गरेका कर्मचारीलाई तालिम सञ्चालन गर्न नदिने चेतावनी समेत दिए ।
वर्तमान शेरबहादुर देउवा सरकारले माधव नेपालको कोटामा परेका रेल्वे कम्पनीको महाप्रबन्धकमा झालाई नियुक्त गरेको छ । झा नियुक्त भएलगत्तै रेल सञ्चालनको टुंगो नलागगेकै अवस्थामा कर्मचारी नियुक्त गरेको भन्दै १५१ कर्मचारीलाई हटाका थिए । तर अहिले आफैं गलत ढंगले कर्मचारी नियुक्त गरेपछि विवादमा तानिएका हुन् ।