काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ बुँदे ज्ञापन–पत्र बुझाएका छन् ।
लोसपाले उठाउँदै आएका माग मुद्दाहरुको सन्दर्भमा विगतदेखि विभिन्न सरकारहरुसँग समझदारी र सम्झौता हुँदै आएको परिप्रेक्ष्यमा वतमान सरकार निर्माण हुने बखत पनि आफूले उक्त मागहरुको विषयमा आफ्ना अडान प्रस्तुत गर्दा प्रधानमन्त्रीबाट सो विषयमा प्रतिवद्धता व्यक्त भए पनि हालसम्म कुनै पनि माग पुरा नभएकोले पुनः स्मरण गराउन र अविलम्ब पूरा गर्न ज्ञापन पत्र प्रस्तुत गरेको अध्यक्ष ठाकुरले बताएका हुन् ।
मंगलबार अध्यक्ष ठाकुरले प्रधानमन्त्रीलाई संविधान अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई अविलम्ब नागरिकता प्रमाण पत्र प्रदान गर्ने र वैवाहिक अंगीकृत सम्बन्धी हालसम्म कायम रहेको कानूनी व्यवस्थालाई निरन्तरता दिने मधेश, आन्दोलन÷थरुहट आन्दोलन लगायत विभिन्न आन्दोलनमा लगाइएका झूठा मुद्दा फिर्ता गर्ने र महोत्तरी र कैलालीमा रहेका रेशम चौधरी लगायतका राजबन्दीहरुलाई अविलम्ब रिहाई गर्न माग गरेका छन् ।